प्रस, सेढवा, ३० माघ/
नेपाली भूमिबाट बालुवा उत्खनन गरिरहेका भारतीय ट्याक्टरलाई नियन्त्रणमा लिन खोज्दा सशस्त्र प्रहरी तथा भारतीय बालुवा तस्करहरूबीच झडप भएको छ । झडपमा दुईजना सशस्त्र प्रहरी घाइते भएका छन् ।
तस्करहरूको आक्रमणमा परी सशस्त्र प्रहरी जवान नरेश यादव र आयुष यादव घाइते भएको र उनीहरूको उपचार नारायणी अस्पताल वीरगंजमा भइरहेको छ ।
पर्साको जगरनाथपुर गाउँँपालिका–१ पिपडाढीमा पर्ने ओरिया खोलामा भारतीय तस्करहरूले बालुवा उत्खनन गरिरहेका बेला शुक्रवार बिहान ६ बजे सशस्त्र प्रहरी आउट पोस्ट महादेवपट्टि र पिडारीगुठीको संयुक्त टोली पुगेर तीनवटा ट्याक्टरलाई नियन्त्रणमा लिई ल्याउने क्रममा खोलामा ट्याक्टर फसेपछि नजीकै रहेको भारतीय गाउँ गदियानी भङ्गाहाका स्थानीयहरूको हुल आई ट्याक्टर छुटाउन खोज्दा झडप भएको थियो ।
भारतीयहरूले सशस्त्र प्रहरीमाथि बाँसका भाठा, बेल्चा तथा ढुङ्गा हान्न थालेपछि दुईजना सशस्त्र प्रहरी घाइते भएका हुन् । झडपपछि भारतीयहरूले ट्याक्टर लगेको सशस्त्र प्रहरीले जनाएको छ । भारतीय पक्षले वर्षाैंदेखि नेपाली भूमिमा प्रवेश गरी नदीजन्य पदार्थ उत्खनन गरी लैजाने गरेको कारण सो स्थानमा पटक–पटक विवाद हुँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here