प्रस, परवानीपुर, ३० माघ/
बाराकी कान्तिदेवी कुशवाहाको हत्या प्रकरणमा बारा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बारामा आयोजित पत्रकार सम्मेलनमा हत्याका अभियुक्तहरूलाई पक्राउ गरेको जानकारी गराइएको छ ।
महागढीमाई नगरपालिका वडा नं १ बरियारपुर (मठवा टोल)की ४८ वर्षीया कान्तिदेवी कुशवाहाको गत माघ २५ गते राति १० बजे हत्या भएको थियो । सोही प्रकरणमा प्रहरीले बारा, महागढीमाई नगरपालिका वडा नं १ बरियारपुर (कचहरी टोल)का ४२ वर्षीय लालबाबूप्रसाद कुशवाहा र कान्तिदेवी कुशवाहाका छिमेकी वर्ष ४८ की धनेश्वरीदेवी कुशवाहालाई पक्राउ गरेको जनाएको छ ।
घटना भएपछि बाराका प्रहरी उपरीक्षक दीपेन्द्र शाहीले बाराका प्रनाउ गौतम मिश्रको संयोजकत्वमा ९ सदस्यीय छानबिन टोली गठन गरेका थिए भने प्रदेश २ प्रहरी कार्यालयले प्रनाउ ज्ञानकुमार महतोको कमान्डमा छानबिन टोली गठन गरी अनुसन्धान गर्दा हत्याका आरोपीहरू पहिचानमा आएको प्रहरीले दाबी गरेको छ । बारा प्रहरीका अनुसार अनुसन्धानको क्रममा ३२ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिएको थियो ।
घटना भएको भोलिपल्ट धनुषा, लालगढबाट अनुसन्धानका लागि कुकुर मगाएर सूक्ष्म अवलोकन गरिएको थियो भने वारदातस्थलबाट फेला परेको रातो गम्छा र औंठीको विषयमा उक्त गाउँमा जसजसलाई सार्वजनिक अष्ठयाम पूजामा गम्छा बाँडिएको थियो, प्रत्येकसँग सोधपूछ गरिएको थियो । लालबाबू पहिलेदेखि आपराधिक घटनामा संलग्न भएको र धनेश्वरी देवीको पीडित परिवारसँग जग्गा तथा सम्पत्तिको विषयमा पहिलेदेखि विवाद रहेकोले दुवैको योजनामा उक्त घटना घटाइएको पत्रकार सम्मेनलमा बारा प्रहरीले स्पष्ट पारेको छ । घटनाबारे आरोपितहरू स्वयंले स्वीकारसमेत गरिसकेको अवस्थामा उनीहरूले नै कान्तिदेवीको हत्या गरेको पुष्टि भइसकेको बाराका प्रहरी प्रवक्ता प्रनाउ गौतम मिश्रले बताए । पक्राउ परेका लालबाबूले २०५९ देखि २०६१ सालसम्म डाँका मुद्दा ३, हातहतियार तथा खरखजाना मुद्दा १ र सार्वजनिक अपराध मुद्दा १ मा पक्राउ परी सजायसमेत भोगिसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here