राधेश्याम पटेल, वीरगंज, ३० माघ/
वीरगंज–पथलैया औद्योगिक कोरिडोरको छातापिपरामा सञ्चालित औषधि उत्पादक कम्पनी क्वेस्ट फर्मास्यूटिकल्स प्रालिले रौतहटको एक सामुदायिक विद्यँलयमा आधुनिक विज्ञान प्रयोगशाला बनाएको छ ।
सामाजिक उत्तरदायित्व अन्तर्गत सो उद्योगले रौतहटको राजदेवी–७ स्थित नेमधारी वासुदेव माध्यमिक विद्यालय मुडवलवामा ७ लाख रूपैयाँको लागत र प्राविधिक सहयोगमा आधुनिक विज्ञान प्रायोगशाला स्थापना गरेको हो । प्रयोगशालाको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले उद्घाटन गरेपछि क्वेस्टका पदाधिकारीहरूले विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका थिए । विद्यालय परिसरमा आयोजित कार्यक्रममा क्वेस्टका महाप्रबन्धक (क्वालिटी अपरेशन) कमलेशकुमार दत्त र मानव संसाधन प्रबन्धक अनिल जैसवालले संयुक्तरूपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामेश्वरप्रसाद यादवलाई प्रयोगशालाको साँचो हस्तान्तरण गरेका थिए ।
उद्योगले विगतमा पर्साका दुईवटा सरकारी विद्यालयमा आधुनिक विज्ञान प्रयोगशाला हस्तान्तरण गरिसकेको छ । तराई–मधेसको विद्यालय शिक्षालाई माथि उकास्नको लागि सरकारी विद्यालयलाई प्रयोगशाला सहयोग गरी सञ्चालन गराउने उद्योगको रणनीति रहेको उद्योगका निर्देशक पृथ्वी राजभण्डारीले बताए । यसअघि पर्साको सिद्धार्थ माध्यमिक विद्यालय र नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सथवलमा आधुनिक विज्ञान प्रयोगशाला बनाइसकिएको छ ।
रौतहटमा शुक्रवार सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासङ्घ रौतहटका अध्यक्ष रवीन्द्र साह, विद्यालयका प्रधानाध्यापक रविशङ्कर रायलगायतको सहभागिता थियो । उक्त विद्यालयमा करीब १४ सय छात्रछात्रा र ३५ जना शिक्षकशिक्षिका छन् । आधुनिक विज्ञान प्रयोगशालाको अभावमा माथिल्लो तहका छात्रछात्राहरूलाई प्रयोगात्मक विज्ञानमा समस्या हँुदै आएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here