उमाशङ्कर द्विवेदी

मैले सुनेको छु कि आचार्य द्रोणले चक्रव्यूहको रचना गरेका थिए, तपाईंहरूमध्ये बालक अभिमन्युबाहेक अन्य कसैले पनि चक्रव्यूहको भेदन गर्न सक्नुहुँदैनथ्यो । अभिमन्युलाई पनि चक्रव्यूहबाट निस्कन सक्ने विद्या बताएको थिइनँ । कतै तपाईंहरूले त्यस बालकलाई नै शत्रुहरूको व्यूहमा पठाइदिनुभएको त थिएन ? सुभद्रानन्दन त्यस व्यूहलाई अनेकौंपल्ट भेदन गरेर त्यसभित्र मारिएको त होइन ?
ऊ सुभद्रा र द्रौपदी दुवैको प्यारो तथा माता कुन्ती र श्रीकृष्णको अत्यन्त लाडे थियो । भन्नुहोस् त कालको वशमा परेको उसको वध गर्ने को हो ? ओहो, ऊ कसरी सबैसित हाँसीहाँसी कुरा गर्दथ्यो र सधैं आफूभन्दा बडाको आज्ञामा रहन्थ्यो । बालकालदेखि नै उसको पराक्रमको कुनै तुलना थिएन । कस्तो मीठो कुरा गर्दथ्यो । ईष्र्या र द्वेषले त उसलाई छोएकै थिएन । ऊ महान् उत्साही थियो । उसका भुजाहरू लामा–लामा थिए र आँखा कमलको समान विशाल थियो । आफ्ना सेवकहरूमाथि औधि दयाभाव राख्दथ्यो, कहिल्यै पनि नीच मानिसको सङ्गत गर्दैनथ्यो । ऊ कृतज्ञ, ज्ञानी र अस्त्रविद्यामा कुशल थियो, युद्धमा कहिल्यै पनि पाइलो पछि सार्दैनथ्यो । युद्धको त उसले अभिनन्दन गर्दथ्यो, शत्रु उसलाई हेर्ने बित्तिकै थुर्रर्र काम्थे । ऊ आत्मीयहरूको प्रिय गर्ने खालको र पितृवर्गको विजय कामना गर्ने खालको थियो । शत्रुमाथि कहिल्यै पनि पहिलो प्रहार गर्दैनथ्यो र ऊ युद्धमा सदैव निर्भीक रहन्थ्यो । रथीहरूको गणना गर्ने बेला उसलाई महारथी भनेर गणना गरिएको थियो, त्यस वीर अभिमन्युको मुख नहेर्दा मेरो ह्दयलाई कसरी शान्ति मिल्नेछ ? आफूभन्दा बढी दुःख त सुभद्राको लागि भइरहेको छ, बिचरी छोराको मृत्युको खबर पाएपछि शोकले पीडित भई प्राण त्याग गर्नेछे । अभिमन्युलाई नहेरेर सुभद्रा र द्रौपदीले मसित के भन्नेछन् ? उनीहरूलाई मैले के जवाफ दिनु ? साँच्चीकै मेरो ह्दय वज्रले बनेको छ र त पुत्रवधू उत्तराको रूने कुराको भेउ पाएर पनि यसको हजारौं टुक्रा भइरहेको छैन ।
यस प्रकार अर्जुनलाई पुत्रशोकबाट पीडित र उसको सम्झनामा आँसु पोखिरहेको हेरेर भगवान् श्रीकृष्णले उनलाई समातेर सम्हाल्दै भने– मित्र, यति व्याकुल नहोऊ । जसले युद्धमा पिठ्यूँ फर्काउँदैन, त्यस वीरलाई यसै मार्गबाट जानुपर्दछ । जसको युद्धबाट नै जीविका चल्दछ, ती क्षत्रियहरूको त विशेष मार्ग यही हो, उसको लागि सम्पूर्ण शास्त्रज्ञहरूले यो नै गति निश्चित गरेका छन् । युद्धमा शत्रुको सामना गर्दै मृत्यु  होस् भन्ने चाहना सबै शूरवीरको हुन्छ । अभिमन्युले बडे बडे वीर एवं महाबली राजकुमारहरूलाई युद्धमा मारेको छ र शत्रुको सामु डटेर वीरहरूको लागि वाञ्छनीय मृत्यु प्राप्त गरेको छ । तिमीले शोक गरेको हेरेर यी तिम्रा भाइ र मित्रहरू औधी दुःखी भइरहेका छन् । यिनीहरूलाई सान्त्वना भरिएको कुराहरूले आश्वासन देऊ । तिमीले त जान्नेयोग्य तŒवलाई थाहा पाइसकेकै छौं, तिमीले शोक गर्नुहँुदैन । भगवान् श्रीकृष्णले यस प्रकार सान्त्वना दिएपछि अर्जुनले आफ्ना भाइहरूसित सोधे– म अभिमन्युको वधको सम्पूर्ण वृतान्त आद्योपान्त सुन्न चाहन्छु । तपाईं जम्मैजना शस्त्र विद्यामा कुशल हुनुहुन्छ, हातमा शस्त्र लिएर त्यहाँ विद्यमान हुनुहुन्थ्यो । यस्तो अवसरमा यदि उसले इन्द्रसित पनि युद्ध गरेको भए मारिन सक्दैनथ्यो, अनि तपाईंहरू त्यहाँ छँदाछँदै उसको मृत्यु कसरी भयो ? यदि मैले थाहा पाएको भए कि पाण्डव र पाञ्चालहरू मेरो छोराको रक्षा गर्न असमर्थ छन् भने म स्वयम् उपस्थित रहेर उसको रक्षा गर्ने थिएँ ।
यति भनेर अर्जुन चुप लागे । त्यति बेला युधिष्ठिर अथवा श्रीकृष्णबाहेक अरू कसैले पनि उतातिर हेर्न वा बोल्ने साहस गर्न सकेनन् । युधिष्ठिरले भने– महाबाहो, तिमी सन्तप्त सेनासित युद्ध गर्न गइसकेपछि द्रोणाचार्यले मलाई समात्नको लागि घोर प्रयत्न गरे, उनले रथीसेनाको व्यूह बनाएर बारम्बार उद्योग गरे तथा हामीले व्यूहाकारमा सङ्गठित भएर उनको आक्रमणलाई व्यर्थ पार्दै थियौं, तर द्रोणाचार्यले आफ्ना तिक्खर बाणबाट हामीलाई धेरै पीडा दिन थाले । त्यति बेला व्यूहभेदन गर्न त परको कुरा, हामीले उनलाई आँखा तरेर हेर्न पनि सकिरहेका थिएनौं । यस्तो स्थिति आइपरेपछि हामी सबैले अभिमन्युलाई भन्यौं– बाबु, तिमीले यस व्यूहको भेदन गरिहाल । हामीले यस्तो भनेपछि अभिमन्युले यस असह्य भारलाई पनि सहन गर्न स्वीकार गरेर तिमीले उसलाई दिएको शिक्षा अनुसार ऊ व्यूह भेदन गरेर त्यसभित्र छिरिहाल्यो । हामीहरू पनि उसले बनाएको मार्गबाट व्यूहमा प्रवेश गर्न पछिपछि हिंडेपछि नीच जयद्रथले शङ्करजीले दिएको वरदानको बलले हामीलाई रोकिदियो । तदन्तर द्रोण, कृप, कर्ण, अश्वत्थामा, बृहद्वल र कृतवर्मा–यी छवटै महारथीले उसलाई चारैतिरबाट घेरामा हाले । घेरामा परेपछि पनि त्यस बालकले आफ्नो शक्ति अनुसार उनीहरूलाई जित्ने प्रयास ग¥यो, तर ती जम्मैले मिलेर उसलाई रथहीन पारिदिए । ऊ एक्लो र असहाय भएपछि दुःशासनको पुत्रले सङ्कटापन्न अवस्थामा उसलाई मारिदियो । उसले पहिले एक हजार हात्ती, घोडा, रथी र मानिसहरूलाई मा¥यो, फेरि आठ हजार रथी र नौ सय हात्तीको संहार ग¥यो, तत्पश्चात् दुई हजार राजकुमार तथा अन्य धेरै सारो अज्ञात वीरहरूलाई मारेर राजा बृहद्वललाई पनि यमलोक पठायो, त्यसपछि मात्र ऊ बल्ल स्वयम् म¥यो । यही हाम्रोलागि सबैभन्दा बढता शोकको कारण हो । क्रमशः…

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here