वैधनाथ ठाकुर

आज बिहान एकजना विद्वान् मित्रले सुखमय जीवनको लागि सातवटा टिप्स पठाउनुभयो । टिप्स हेर्दा बडो आकर्षक तथा घतलाग्दो थियो । एकछिन टिप्समैं घोरिए । हिजोआज सामाजिक सञ्जालमा सबै कुरा उपलब्ध छन् । एक क्लिक गर्ने बित्तिकै स्क्रिनमा जादूगरको जिनजस्तै उपलब्ध भइहाल्छ । कुनै मेहनत गर्नुपर्दैन । मानवद्वारा कल्पना गरिएको सरस्वती कसैले आजसम्म देख्न नपाए तापनि मानवद्वारा निर्मित गूगल सबैको हातहातमा छ । भनिन्छ, गूगलसँग संसारको यस्तो कुनै प्रश्न छैन, जसको ऊसँग जवाफ छैन । जबकि यसमा सच्चाइ कम र अतिशयोक्ति बढी छ । तर वास्तविक अवस्था यो हो कि यतिबेला विविध विधामा ज्ञान आर्जन गर्न निकै नै सुविधायुक्त भएको छ।
मलाई लाग्छ जीवन खुशीमय बनाउने टिप्स पनि गूगलबाटै तानिएको होला ।
पहिलो टिप्सको रूपमा छ– कहिले घृष्णा नगर्नु । यो वाक्य पहिलोचोटि सुनिएको होइन । महात्मा गौतम बुद्धदेखि संसारका सबै धर्मशास्त्रको सार नै यही हुनुपर्छ– सबैसँग प्रेम गर, घृणालाई त्याग गर । सुखको एकमात्र मन्त्र यही नै हो । वास्तवमा माया र घृणा एकअर्काका परिपूरक शब्द हुन् । घृणा भन्ने शब्द नहुने हो भने कसैले पनि मायालाई महŒव दिने थिएन । जहाँसम्म घृणाको कुरा छ, त्यो कसैले उपदेश दिएर वा कुनै शास्त्रमा पढेर छोड्ने कुरा होइन । यस कुराको ठोकुवा गर्न सकिन्छ । झन्डै ६ महीनादेखि देशको कमान सम्हालेको प्रमुख सत्ताधारी दल नेकपाको आन्तरिक खिंचडी जति पकाउँदा पनि पाकेन । पुस ५ गते नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले संसद् विघटन गरेपछि बल्ल नाटकमा रोमाञ्चक दृश्यहरूको पटाक्षेप हुन पुग्यो । यतिबेला लाखौंलाख रूपैयाँ खर्च गरेर ओली र माधव–प्रचण्ड समूहले काठमाडौंमा पटक–पटक सडक प्रदर्शन तथा आमसभा गरिरहेका छन् । दुवै समूहको आमसभामा कार्यक्रम अवधिभर घृणा नै घृणा एकअर्काविरूद्ध पैmलाउने काम भइरहेका छन् । दुवै समूहका प्रखर वक्ताहरूले एकअर्कालाई चोर, ठग, अपराधी, प्रतिक्रान्तिकारी, प्रतिक्रियावादी, विदेशी शक्तिराष्ट्रहरूको दलाल जस्ता निकृष्ट शब्दहरूको प्रयोग गरिरहँदा पक्कै पनि यसले प्रेमको वर्षात् गरेको छैन।
काठमाडौंमा केही हजारको जुलुसलाई लाखौंलाखको जुलुस बताउने यी दुवै समूहले आफ्नो उद्देश्य पनि बताउने गरेका छन् । उनीहरूले आफूहरू कुर्सीको लागि नलडेको बरू सुखी नेपाली समृद्ध नेपालको सपना साकार पार्न यी सबै गरेको बताउने गरेका छन् । यहाँनेर प्रश्न उठ्छ के ओली र प्रचण्ड–माधव समूहले एकअर्काको खोइरो खनेर नेपाली जनता सुखी र नेपाल समृद्ध हुने हो ?
टिप्समा दोस्रो बुँदा छ– चिन्ता नगर्नु । चिन्ताको बारेमा हाम्रो समाजमा धेरै प्राचीन अनुभव छ । सामाजिक अनुभूतिले हजारौं वर्षदेखि भन्दै आइरहेको छ कि चिन्ताले चिताको बाटो (श्मशानको बाटो) पहिल्याउँछ । अर्थात् चिन्ताले मृत्युको बाटोमा पु¥याउँछ । सोझो अर्थमा भन्ने हो भने चिन्ता त्यो शत्रु हो, जसले मान्छेलाई क्रमशः मन्द विषझै मार्ने गर्दछ । त्यस कारण आधुनिक चिकित्सा विज्ञानले पनि आफ्ना बिरामीहरूलाई भन्छ– चिन्ता नगर्नुस् नत्र रक्तचाप र चिनी बढ्छ साथै हृदयाघातको सम्भावनालाई पनि बढाउँछ ।
यस्तोमा प्रश्न उठ्छ, चिन्ता नगर्ने कुनै मानिस छ यस धर्तीमा ? जोसँग शक्ति (धन, पद, पैसा) छैन, तिनीहरूलाई त्यसको आर्जन कसरी गर्ने भन्ने चिन्ता छ र जोसँग शक्ति छ, उनीहरूलाई त्यो शक्ति कसरी जोगाउने भन्ने चिन्ताले सताइरहेको छ । अर्थात् यो संसारमा दुई प्रकारका मानिस छन् । पहिलो शक्ति भएको र दोस्रो नभएको । सोझो अर्थमा यसलाई यसरी पनि बुझ्न सकिन्छ, वर्तमान प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीसँग यतिबेला जुन शक्ति छ, त्यसलाई कसरी अर्को पाँच वर्षसम्म वा जीवनभर आफूमैं राखिराख्ने चिन्ता रहेको सबैले स्पष्ट देखेकै हो । त्यसैगरी, कुनै बेला प्रधानमन्त्री रहेका माधव, झलनाथ र प्रचण्ड फेरि कसरी शक्तिमा पुग्ने भन्ने चिन्ताले गर्दा नै आज काठमाडौंमा जनप्रदर्शन नामक नाटक पटक–पटक मञ्चन भइरहेको छ ।
कैयौं चिन्ताबाट यिनीहरू कहिले मुक्त होलान् ?
तेस्रो बुँदा– सादा जीवन । जहाँसम्म सादा जीवनको कुरा छ, त्यो जनताको लागि (गरीब, सर्वहारा तथा मध्यमवर्ग) सधैंभरि सही नै हो । उनीहरूको घरमा न त एसी छ, न महँगो लैन्डक्रुजर जस्तो चार पाङ्ग्रे गाडी । न त उनीहरू पाँचतारे होटल जान्छन् । वास्तवमा सामान्य भात, ढिडो, गुन्द्रुक, तरकारी, दालमैं जीवन गुजारा गरिरहेका जनतालाई जाडोमा धेरै जाडो र गर्मीमा धेरै गर्मी हुन्छ । तर जनताको नाममा नेता बनेका शासक र प्रतिपक्ष्ँ, विकासको नाममा मालिक बनेका दलाल, पूँजीपतिहरूलाई जाडो के हो ? गर्मी के हो ? थाहा छ ? आपैंmले नेपाल बन्द गरेको दिन पनि पैदल हिंड्न नसक्ने, लैन्डक्रुजर नै चाहिने हाम्रँ नेताहरूको जीवनशैली साधारण छ कि रङ्गीन छ ? सबैले छर्लङ्गै देखेकै छन् ।
चौथो बुँदा छ– जे छ त्यसैमा सन्तुष्ट हुने अर्थात् थोरैमा सन्तुष्ट हुने । यो कुरो ज्ञान र विकास दुवैको विरोधी कुरा हो। मान्छे बयलगाडामा सन्तुष्ट भएको भए रकेट बन्ने थिएन । कच्ची घर, गोरेटो बाटो, पिछडेको गाउँमैं मान्छे सन्तुष्ट रहेको भए पक्की सडक, पक्की घर र विकसित शहरहरू बन्ने थिएनन् । त्यसैले सुखको लागि सन्तुष्ट होइन असन्तुष्ट हुनुपर्छ । यसको मतलब यो होइन कि आफ्नो सुखको लागि अरूको सुख बर्बाद गरिदिने ।
पाँचौं बुँदा छ– माया बाँड, हाँसो बाँड । यो कुरा भन्न जति सजिलो छ, गर्न त्यत्ति नै गा¥हो छ । मान्छेले मान्छेलाई अथवा समाजलाई माया र हाँसो तब मात्रै बाँड्न सक्छ, जब उसको अनुकूल परिस्थिति हुन्छ । प्रतिकूल अवस्थामा कसैले पनि माया र हाँसो बाँड्न सक्दैन । युरोपेली काल्पनिक कथाहरूका पात्रहरूले मात्रै प्रतिकूल अवस्थामा पनि माया र हाँसो बाँड्न सक्छन् होइन भने जीवित मानव समाजमा यो सम्भव नै छैन । छल, प्रपञ्चले भरिएको राजसत्ता र राजनीतिमा कसरी माया र हाँसो बाँड्ने ? त्यसैले जतिपटक सत्ता बदले पनि जनताको भागमा कटुता र आँसुबाहेक आजसम्म केही पनि आएको छैन ।
सातौं बुँदा छ– ईश्वरको सम्पर्कमा रहनुस्, अर्थात् मन्दिरमा जाऊ, पुजारीलाई दक्षिणा देऊ अनिमात्र खुशी रहनेछौं। जहाँसम्म ईश्वरको कुरा छ मेरो विचारमा नभएको ईश्वरको सम्पर्कमा कसरी रहने ? ईश्वरको सम्पर्क गराउने एजेन्टको रूपमा गुरू, पुरोहित, साधुसन्त, पादरी, मौलवी आदिको व्यवस्था धर्मशास्त्रहरूमा छ । तर यहाँ प्रायः आशाराम मार्का गुरूहरू छन्, जसले ईश्वरको नाममा धन, मन, तनको शिकार गरेर चरम सुख प्राप्त गरेका छन् । अनि यस्तोमा कसरी ईश्वरको सम्पर्कमा रहने ? विष्णुको अवतार नै आफूलाई ठान्ने र मान्न लगाउने राजाहरूको वंश नाश हुँदा ईश्वर कहाँ थिए ? त्यसैले खुशीमय जीनव व्यतीत गर्नको लागि देशमा यस्तो सरकार चाहिन्छ, जुन भ्रष्टाचारमुक्त होस्, विकासमुखी होस्, नातावादबाट मुक्त होस्, पारदर्शी होस् । सदैव प्राथमिकतामा देशको विकासलाई राख्ने होस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here