गोलभेंडालाई हरियो तरकारीमध्येको रानी मानिन्छ । शाकाहारी हुन् या मांसाहारी तरकारी, गोलभेंडाको प्रयोग उत्तम हुन्छ । तरकारी, सलाद, अचारमा प्रयोग हुने गोलभेंडाको मूल्य चरम चुलीमा पुगोस् या सस्तो भएर वालछाल होस्, उपभोक्ताले खोजिरहेकै हुन्छन् । यो बा¥हैमास प्रायः सबैखाले उपभोक्ताले चाहने गोलभेंडा भने बजारमा केही महीनाबाहेक सहज र सुलभ उपलब्ध छैन । उक्त समयमा विदेशबाट आयात गरिएको हाइब्रिड गोलभेंडा उपभोग गरेर चित्त बुझाउन उपभोक्ता बाध्य छन् । पकाउँदा नपाक्ने, खाँदा स्वाद नआउने तर दाम भने महँगो पर्ने, आयातित गोलभेंडाको विशेषता गज्जबको छ । त्यही गोलभेंडामा स्वदेशी मुद्रा बाहिरिरहेको हुन्छ । नेपालमा गोलभेंडा प्रशस्त उत्पादन हुन्छ । तर केही महीना मात्रै । उत्पादन हुने बेला जताततै हुने, नहुने बेला कतै पनि नहुने समस्या हामीसँग छ ।
उपभोक्ताको भन्दा उत्पादकको झन् ठूलो समस्या छ । यतिबेला सर्लाहीका किसानहरूलाई गोलभेंडाले मूल्य नपाएर चिन्ता छ । गोलभेंडाका लागि मुलुकमा नै नाम चलेको लालबन्दीलगायत ईश्वरपुर, हरिवन, वाग्मती नगरपालिका क्षेत्रका किसानहरूले गोलभेंडा खरीदकर्ता व्यापारी पाइरहेका छैनन् । त्यहाँ पुग्ने केही व्यापारीले पनि प्रतिकिलो १५ रूपैयाँभन्दा बढी मूल्य दिइरहेका छैनन् । बढी मूल्य देओस् पनि किन ? यतिबेला जताततै गोलभेंडा छ । पर्सा, बारा, चितवन, मकवानपुर जताततै किसानको खेतमा गोलभेंडा पाकिरहेको छ । हरेक स्थानलाई स्थानीयस्तरमैं पूर्ति हुने भएपछि किसानको सीमित पहुँच भएका केही बजारमा मागभन्दा पूर्ति बढी भइरहेको छ । आवश्यक वस्तु पर्याप्त मात्रामा पूर्ति भएमा त्यहाँ ¥हासोन्मुख प्रतिफल शुरू हुन्छ र वस्तुको मूल्य ओरालो लाग्छ । गोलभेंडाको मूल्य कम हुँदा लगानीसमेत नउठ्ला भन्ने किसानको चिन्ता छ । तराई–मधेस क्षेत्रमा खासगरी गोलभेंडाको उत्पादन मङ्सिरदेखि शुरू भएर चैतसम्म झाङ्गिन्छ । माघ महीना गोलभेंडा उत्पादनको मध्यावधि मानिन्छ । हरेक वर्ष यस बेला गोलभेंडा प्रचुर उत्पादन हुने भएकोले मूल्य कम हुन्छ । उत्पादनको शुरू र अन्तिम महीनामा मूल्य उच्च हुने हो । यही दुई अवधिलाई मध्यनजर गरी गोलभेंडा लगाइन्छ । तर कतिपय किसानको खेतमा मङ्सिरमा उत्पादन हुँदैन अनि चैतसम्म बस्दैन । यस अवस्थामा भने किसानको लगानी डुब्न सक्छ ।
सरकार र योजना निर्माणकर्ताहरूले बुद्धि पु¥याइदिने हो भने समस्या होइन, अवसर नै अवसर छ । मुलुकमा गोलभेंडा उत्पादन नहुने क्षेत्र धेरै छ । कतिपय नगरक्षेत्रमा पनि तरकारी उत्पादन न्यून हुन्छ । तर त्यहाँसम्म किसानको सहज पहुँच छैन । बजार व्यवस्था राम्रो हुने हो भने किसानको खेतमा गोलभेंडा कुहिंदैन । यसो भएमा गोलभेंडा उत्पादन नहुने क्षेत्रका बासिन्दाले सहुलियत मूल्यमा उपभोग गर्न पाउनेछन् भने उत्पादकले राम्रो मूल्य पाउनेछ । अर्को पनि उपाय छ । गोलभेंडालाई पछिसम्म अर्थात् बेमौसममा पनि प्रयोग  गर्ने विधि अपनाउन सकिन्छ । गोलभेंडा धेरै उत्पादन हुने बेलामा त्यसको अचार, सस र पाउडर बनाएर पछिसम्म र दूरदराजसम्म बिक्री गर्न सकिन्छ । यसो गर्दा उपभोक्ता र उत्पादनकर्ता दुवै फाइदामा पर्छ । त्यो सीप, उत्पादन तथा उद्योग सञ्चालनको लागि तीन तहमध्ये कुनै पनि तहले आँट गर्न सकिन्छ । तर त्यसको लागि जोश, जाँगर, योजना तथा दूरदृष्टि भएको जनमैत्री प्रतिनिधि हुनुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here