प्रस, परवानीपुर, २९ माघ/
वीरगंज–१० आदर्शनगरस्थित स्ट्यान्डर्ड चार्टर्ड बैंकदेखि ५० मिटर पश्चिममा एउटा घरको मूल गेटमा सेतो गोलाकार भित्र मित्रो क्याफे लेखिएको छ र छेउमा कपको चिह्न छ। मुनि लेट्स कनेक्ट उल्लेख गरिएको छ। झट्ट हेर्दा अधिकांशलाई कुनै व्यापारिक प्रतिष्ठानको कार्यालय होला भन्ने लाग्न सक्छ। तर त्यो वीरगंजमा खोलिएको मित्रो क्याफे हो। जहाँ विशुद्ध पारिवारिक वातावरणमा शाकाहारी भोजन तथा खानेकुराका परिकार पाइन्छ। भित्र प्रवेश गर्दा काठमाडौं, पोखरा, सौराहा, हेटौंडालगायतका शहरमा जसरी फरक किसिमले सजाइएको रेस्टुराँ जस्तै छ। वीरगंजमा चार तारे होटलदेखि आधुनिक करीब आधा दर्जन रेस्टुराँ खुलिसकेको अवस्थामा मित्रो क्याफेको स्थापनामा वीरगंजकै मारवाडी समुदायकी तीनजना महिला उद्यमी लागिपरेका छन्।
वीरगंज मुलुकको प्रमुख भन्सार नाका तथा आर्थिक नगरी भए तापनि बाहिरबाट आउने पर्यटक तथा आन्तरिक पर्यटकको लागि शान्त वातावरणको क्याफे कम भएको आवश्यकता महसूस गरी क्याफे स्थापना गरिएको सञ्चालिकाहरू बताउँछन्। सफल गृहिणीको अलावा फुर्सदको समयलाई सदुपयोग गर्नका लागि वीरगंजकी स्वेता अग्रवाल, सिल्पा अग्रवाल र स्वेता गुप्ता गरी तीनजनाले १४ महीनाअघि यो क्याफेको शुभारम्भ गरेका थिए। तर कोरोना महामारीको कारण करीब ८ महीना क्याफे नराम्ररी प्रभावित भयो। अहिले क्याफे पूर्णरूपमा सञ्चालन भइरहेको सञ्चालिका स्वेता अग्रवाल बताउँछिन्।
वीरगंजमा फरक वातावरणको अनुभूति गराउँदै केही विशेष सेवा उपलब्ध गराउने उद्देश्यले करीब रु १५ लाखको लागतमा यो क्याफे सञ्चालनमा ल्याएको अर्की सञ्चालिका सिल्पा अग्रवालको भनाइ छ। उनले भनिन्, “यो शुद्ध शाकाहारी रेस्टुराँ हो, यहाँ वाइफाई पनि चल्दैन, शुद्ध र ताजा खानेकुरा सुपथ मूल्यमा पाइन्छ।” उनले दैनिक जीवनमा घर, कार्यालयमा वाइफाई छँदैछ, नास्ता वा खाने समयमा पनि साथीभाइ तथा परिवारका सदस्यलाई प्रविधिले टाढा बनाउँछ, त्यस कारण वाइफाईविनाको रेस्टुराँ खोलेको बताइन्। रेस्टुराँमा पूजा गर्ने घण्टी हरेक टेबलमा राखिएको छ। त्यो घण्टी बजाएर वेटरलाई बोलाइ अर्डर दिन सकिने उनले बताइन्।
झोल मःम, भेज ललीपप, बडापाव, मास्का बन्त्स, हडिया राइस, कफी, चिया, कोल्डड्रिंक्स तथा लस्सीजन्य अन्य पेय पदार्थले ग्राहकहरूको मन जितिरहेको मित्रो क्याफेकी अर्की सञ्चालिका स्वेता गुप्ताले बताइन्। उनले वीरगंजका औद्योगिक कार्यालय, बैंक तथा विभिन्न घरानाबाट पनि दैनिक अर्डर आउने गरेकोले होम डिलेभरीको सुविधा पनि रहेको जानकारी गराइन्। क्याफेले बिस्तारै वीरगंजेली तथा बाहिरी पर्यटकको मन जित्दै गएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा विस्तार गर्ने योजना रहेको पनि उनले बताइन्। तीनैजना महिला उद्यमीले स्नातकसम्म अध्ययन गरेका छन्। हाम्रो यो व्यवसायमा घरपरिवारले पनि सहयोग गरिरहेको तीनैजना महिला उद्यमीले बताइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here