प्रस, जीतपुर, २८ माघ/
वीरगंज–पथलैया व्यापारिक मार्गको अवधि फेरि ६ महीनाको लागि थपिएको छ।
तोकिएको समयमा कार्य सम्पन्न नभएपछि योजना कार्यालय पथलैयाले ६ महीनाको म्याद थपको लागि सिफारिश गरी पठाएको र सो सदर भएर आएको बताइएको छ। व्यापारिक मार्ग विस्तार योजना वीरगंज–पथलैया ६ लेन सडक कार्यालय पथलैयाका सूचना अधिकृत इन्जिनीयर सञ्जीवकुमार गुप्ताले २०७३ असार २९ गतेदेखि योजनाको काम शुरू भएको र अहिलेसम्म ७० प्रतिशत सम्पन्न भएको बताए। दुई वर्ष अवधिमा निर्माण कार्य सम्पन्न हुनुपर्नेमा तेस्रो मधेस आन्दोलन र नाकाबन्दीका कारण प्रभावित भएको र पछिल्लो चरणमा कोरोना सङ्क्रमणले काम हुन नसकेपछि म्याद थप गरिएको उनले बताए।
३१ किलोमिटर लामो वीरगंज–पथलैया व्यापारिक मार्गको ७० प्रतिशत काम सम्पन्न भएको सूचना अधिकारी गुप्ताले बताए। अहिले थप गरिएको म्याद अन्तिम भएको पनि उनले बताए।
यसअघि पनि पटक–पटक विभिन्न कारण देखाएर व्यापारिक मार्ग निर्माण कार्यको म्याद थप हुँदै आएको छ।
पथलैयादेखि परवानीपुर भएर सुक्खा बन्दरगाह र परवानीपुरदेखि वीरगंजसम्मको ६ लेन सडक निर्माणका लागि सातवटा ठेकेदार कम्पनीले काम गर्दैछन्। ६ महीनाको म्याद थप भएपछि यो योजना २०७८ साउन मसान्तभित्र सम्पन्न गर्नुपर्ने सूचना अधिकृत गुप्ताले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here