प्रस, वीरगंज, २८ माघ/
स्ट्रिट चाइल्ड नेपालको आर्थिक सहयोगमा आसमान नेपाल र जवात संस्थाले प्रदेश २ का चार जिल्लामा स्वच्छता तथा महीनावारी स्वच्छता सामग्री वितरण गर्दै आएको आसमान नेपालका इमर्जेन्सी रेस्पोन्स अफिसर धर्मेन्द्र चौरसियाले बताए।
पर्सा जिल्लाको पकाहामैनपुर, कालिकामाई, पोखरिया, पर्सागढी नगरपालिकामा यो कार्यक्रम सञ्चालन भइरहेको र महीनावारी स्वच्छता सामग्री ७२२ परिवारमा वितरण गर्ने लक्ष्य रहेको उनले बताए। पकाहामैनपुरको चारवटा वडा, कालिकामाईको तीनवटा वडा, पोखरिया नगरपालिकाको पाँचवटा वडामा यो कार्यक्रम सञ्चालनमा रहेको उनले बताए।
यो सकिएलगत्तै पर्सागढीमा कार्यक्रम आयोजना गरिनेछ। अहिलेसम्म २२७ जनालाई स्वच्छता सामग्री र २०७ जनालाई महीनावारी स्वच्छता सामग्री वितरण भइसकेको छ। महीनावारी स्वच्छता सामग्रीमा १५ वटा प्याड, एउटा तौलिया, बाल्टिन, नुहाउने–लुगाधुने १६ वटा साबुन रहेको छ भने स्वच्छता सामग्रीमा नुहाउने–लुगाधुने १७ वटा साबुन, बाल्टिन, शौचालय ब्रस, फेनाइल र ६ वटा घरेलु मास्क छन्।
आसमान नेपालका कार्यक्रम संयोजक जमुना श्रेष्ठले कोरोना सङ्क्रमणको कारण दलित समुदाय स्वच्छता अपनाउने कार्यबाट वञ्चित हुन सक्ने ठहर गर्दै मुसहर, डोम, तत्वा जातलाई यो सामग्री उपलब्ध गराइएको बताइन्।
जवातका शिवनाथ यादवले प्रदेश २ का पर्सा, बारा, रौतहट, सर्लाहीमा आसमान नेपाल र जवातको सहकार्यमा कार्यक्रम भइरहेको बताए। उनले स्वच्छता सामग्री वितरण कार्यक्रम सकिएलगत्तै पकाहामैनपुर गापा र पर्सागढी नगरपालिकाका मुसहर, डोम, तत्वा जातका ५ सय परिवारलाई राहत वितरण गर्ने कार्यक्रम रहेको जानकारी गराएका छन्।