प्रस, सेढवा, २८ माघ/
प्रथम पटेर्वासुगौली गोल्डकप प्रतियोगिताको उपाधि वीरगंज युनिटीले पाएको छ। बुधवार सम्पन्न फाइनल खेलमा गढीमाई युथ क्लब अपौनीलाई १ का विरुद्ध २ गोल गर्दै वीरगंज युनिटीले उपाधि जितेको हो। उपाधि जिताउन वीरगंज युनिटीका सरोज तामाङले खेल शुरू भएको ५ मिनेटमैं पहिलो गोल गरेका थिए भने खेल समाप्त हुन ११ मिनेट बाँकी छँदा विमल रानामगरले अर्को गोल गरेका थिए।
फाइनल खेलमा अपौनीले मध्यान्तरपछि फ्री किक पाएको र त्यसलाई एलेक्सले गोलमा परिणत गरेका थिए। अपौनीतर्फबाट यही एउटा गोल भयो। फाइनलका विजेता वीरगंज युनिटीलाई पटेर्वासुगौली गापाका प्रमुख हरिनारायण चौधरीले नगद रु २ लाख नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए।
यसैगरी, उपविजेता अपौनीलाई रु १ लाख नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्रमुख चौधरीले वितरण गरे। आजको खेलमा पहिलो गोल गरेका सरोज तामाङलाई गापाका कार्यपालिका सदस्य विपिन मुखियाले रु ५ हजार नगद प्रदान गरे। पहिलो गोल गर्नेलाई उनले सो रकम दिने घोषणा गरेका थिए। आजको खेलको म्यान अफ द म्याच वीरगंज युनिटीका सुरज ठकुरी घोषित भए।
यसैगरी, प्रतियोगिताको म्यान अफ द सिरिज वीरगंज युनिटीका विमल रानामगर घोषित भए। त्यस्तै, उत्कृष्ट मिडफिल्डर अपौनीका राधेश्याम महतो, उत्कृष्ट गोलकीपर युनिटीका सरोज तामाङ, उत्कृष्ट डिफेन्डर युनिटीका अनिल पटेल, उत्कृष्ट स्ट्राइकर युनिटीका सन्त गुरुङ, प्रतियोगितामा सबैभन्दा बढी गोल गर्ने अपौनीका अब्दुल्लाह, उत्कृष्ट कोच युनिटीका सुलभ राणालाई कार्यक्रमका प्रमुख अतिथि गापा प्रमुख चौधरीले पुरस्कृत गरेका थिए। कार्यक्रम समता समाज नेपालका अध्यक्ष मधुकान्त चौधरीको अध्यक्षतामा भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here