प्रस, निजगढ, २८ माघ/
रेलमार्ग सरोकार समिति, निजगढले निजगढ नगरपालिकालाई मङ्गलवार ज्ञापनपत्र बुझाएको छ। उपप्रमुख लीलादेवी लामिछाने र प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्कीलाई संयुक्तरूपमा ज्ञापनपत्र बुझाइएको हो।
मेची–महाकाली रेलमार्गको डिपिआर तयार गर्न निजगढ–हेटौंडा–भरतपुर खण्डको सर्भे गर्ने क्रममा निजगढ नगरपालिका क्षेत्रभित्र घनाबस्ती, धार्मिक तथा ऐतिहासिक स्थल र उद्योगसहित खेतीयोग्य उर्वरभूमि विनाश हुनेगरी रेलमार्गको सर्भे गरिएपछि यस क्षेत्रका बासिन्दामा चिन्ता बढेसँगै स्थानीय नागरिकको भेलाले एक साताअघि रेलमार्ग पीडित सरोकार समिति गठन गरेको थियो।
रेल विभागले हाल गरिरहेको सर्भे अनुसार रेलमार्ग निर्माण हुने हो भने निजगढको पहिचान गुम्ने अवस्था उत्पन्न हुने देखिएकोले निजगढवासीले यसअघि हुँदै गरेको सर्भे कार्य रोकेको ज्ञापनपत्रमा उल्लेख छ। यसअघि निजगढ नगरपालिकाको समन्वयमा नगरपालिकाको सभाहलमा प्रभावित क्षेत्रका सरोकारवाला, स्थानीय बासिन्दा, जनप्रतिनिधि, रेल विभागका सिनियर डिभिजन इन्जिनीयरसहितको प्राविधिक टोली, कर्मचारी र परामर्शदाताबीच भएको छलफलमा विभिन्न विकल्पमाथि छलफल गरी निजगढ नगरक्षेत्र विनाश नहुने गरी निजगढ नगरपालिकाको प्राविधिकसमेत सहभागी गराइ रेलमार्गको सर्भे गर्नुपर्ने सहमति भएको थियो।
सहभागी स्थानीय बासिन्दाले बकैया खोलापारि पश्चिम किनारबाट रेलमार्गको रेखाङ्कन गर्न स्पष्ट सुझाव दिएका थिए। तर सहमति अनुसार सम्बन्धित निकायबाट समन्वयको लागि हालसम्म कुनै पहल नभएकोले जनाइएको छ।
आगामी दिनमा सर्भे गर्दा सरोकारवालासँग पर्याप्त छलफल गरेर मात्र सर्भे गर्नुपर्ने अन्यथा सर्भेमा सृजना हुन सक्ने बाधा, अवरोधमा सम्बन्धित पक्ष नै जिम्मेवार हुुनुपर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ।
यता उपप्रमुख लीलादेवी लामिछानेले निजगढ नगरक्षेत्रका १३ वटै वडाका मानवबस्ती, खेतीयोग्य जमीनलगायत अन्य संरचना विनाश गरेर रेलमार्ग लैजान नहुने पक्षमा आफू पनि रहँदै आएको सरोकार समितिलाई बताएकी छन्।
सरोकार समितिका संयोजक जीतलाल श्रेष्ठ र सहसंयोजक विष्णु खड्काद्वारा हस्ताक्षरित ज्ञापनपत्र सरोकार समितिले जिल्ला प्रशासन कार्यालय बारा र रेल विभाग काठमाडौंमा पनि बुझाउने जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here