नरेश यादव, पर्सागढी, २७ माघ/
पर्सागढी नगरपालिका–४ को सहयोगमा सुन्दर नेपाल कलैया बाराले बालविवाह तथा दाइजोप्रथाविरुद्ध सडकनाटक प्रस्तुत गरेको छ।
पर्सागढी नपा–४ भेडाहाचोकमा आयोजित सडकनाटकमा बालविवाह कानूनी अपराध भएको र सो गराउनेलाई कानूनी सजाय हुनेबारे नाटकद्वारा सचेत गरिएको थियो।
बालविवाह कानूनी अपराध भएको र सानो उमेरमा गरिने सो कार्यले बालबालिकाको स्वास्थ्य तथा मानसिक विकासमा पनि प्रभाव पार्ने हुँदा सो नगर्नका लागि नाटकबाट आह्वान गरिएको थियो।
त्यसैगरी, दाइजोप्रथाबाट समाज नराम्ररी ग्रसित भएको र यसबाट उत्पन्न विकृति, विसङ्गतिका बारेमा पनि नाटकद्वारा सचेत पारिएको थियो। दाइजो लिने र दिने कार्यले छोरीको वैवाहिक कार्यमा विघ्न–बाधा आउने गरेको, आर्थिक समस्याले छोरीहरूको विवाह नभएको र भएकाहरूको पनि आगजनी, विषसेवन र अन्य प्रकारबाट हत्या हुने गरेको बताइएको थियो।
यसका साथै दाइजोको कारण छोरीहरूको जन्मदर घटेको बताइएको थियो। गर्भमा छोरी भएपछि भ्रूणहत्या भइरहेकाले समाजबाट सबैले दाइजो हटाउने कार्यमा सक्रियता देखाउनुपर्ने सन्देश नाटकमार्फत प्रवाह गरिएको थियो।
सडकनाटक प्रस्तुतिमा कलाकारहरू दीपक बैठा, आम्रपाली कुमारी, सनोजा दास, अर्चना कुमारी र पुनदेव चौरसिया सहभागी थिए। यसैगरी, नाटक हेर्न वडाध्यक्ष समसुद्दीन मियाँ देवान, सदस्य रामप्रसाद पाठकलगायत वडावासीहरूको सहभागिता थियो।