प्रस, वीरगंज, २५ माघ/
पर्सा जिल्लामा कोरोनाविरुद्ध पहिलो चरणको खोप लक्ष्यअनुरूप दिइएको छ।
देशभरि यो खोप पहिलो चरणमा अनुमानितभन्दा आधा मानिसले मात्र लिए पनि पर्सा जिल्लामा भने तोकिएको लक्ष्यभन्दा बढी मानिसले लिएको स्वास्थ्य कार्यालय पर्साका प्रमुख कामेश्वर चौरसियाले बताए। उनले पर्सा जिल्लाको लागि पहिलो चरणमा ४ हजार ९७१ खोप आएकोमा माघ २४ गते पहिलो चरणको अन्तिम दिनसम्म ५ हजार ६१ जनाले खोप लिएको बताए। उनले पर्सा जिल्लामा तीनवटा खोपकेन्द्र नारायणी अस्पताल, नेशनल मेडिकल कलेज र पोखरिया अस्पतालमार्फत चिकित्सक, स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स र वारुणयन्त्र चालक, भन्सार कर्मचारी/सुरक्षाकर्मी, कैदीबन्दी र वृद्धाश्रमका वृद्धवृद्धाहरूलाई खोप दिइएको बताए। दोस्रो चरणको खोपको लागि मन्त्रालयले सूची माग गरेको प्रमुख चौरसियाले प्रतीकलाई बताए। उनले दोस्रो चरणमा पालिकाका कर्मचारी, जनसम्पर्क कार्यालय, बैंकर्स र सुरक्षाकर्मीहरूको सूची पठाइने बताए।
दोस्रो चरणको खोप पर्सा जिल्लामा फागुनको अन्तिम सातादेखि शुरू हुने अनुमान गरिएको छ।
पहिलो चरणको खोप माघ १४ गतेदेखि २४ गतेसम्म सञ्चालन भएको थियो।
पहिलो चरणको खोप दिएको एक महीनापछि दोस्रो चरणको खोपको तयारी शुरू भएको उनले बताए।
यसैगरी, पहिलो खोप लिएकाहरूलाई दोस्रो खोप तोकिएको समयमैं हुने उनले जानकारी गराए। एकजना व्यक्तिलाई कोरोनाविरुद्धको खोप दुईपटक दुई चरणमा दिने कार्यक्रम रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here