प्रस, निजगढ, २५ माघ/
पूर्व–पश्चिम राजमार्गको बारा जिल्ला खण्डमा तीव्र गतिमा गुड्ने सवारीसाधनहरूमाथि नेपाली सेनाले निगरानी बढाइरहेको छ। पर्सा राष्ट्रिय निकुञ्ज आधाभार, बारा अन्तर्गत निकुञ्ज सुरक्षार्थ खटिएको सेनाको टोलीले सो निगरानी केही सातायतादेखि बढाएका हुन्।
निकुञ्ज क्षेत्र अन्तर्गत पर्ने पथलैया–अमलेखगंज र पथलैया–निजगढ सडकखण्डमा तीव्र गतिमा गुड्ने सवारीसाधनहरूमा उक्त निगरानी बढाएको पर्सा राष्ट्रिय निकुञ्ज आधाभार, बाराका प्रमुख एवं संरक्षण अधिकृत मनोज साहले बताए।
एक महीनाअघि सोही राजमार्गको पथलैयानजीकैको सडकमा कारको ठक्करले पोथी पाटेबाघको घटनास्थलमैं ज्यान गएपछि वन्युजन्तुको सुरक्षाका लागि साधनस्रोतको अभावका बावजूद पनि सेनाले वन्यजन्तुसँगै सवारीसाधन, मानव दुर्घटना रोक्न राजमार्गका सडकमा सेनाको टोली खटाएको पर्सा राष्ट्रिय निकुञ्जका लागि सुरक्षार्थ खटिएको श्री सिद्धिबक्स गणमा प्रमुख गणपति एवं कर्णेल प्रकाश थापाले बताए।
सवारीसाधनहरूको गति मापन गर्ने स्पीडगन, आवश्यक सवारी भ्यानलगायतका अन्य सामग्रीसहितको व्यवस्थितरूपमा राजमार्गमा गुड्ने सवारीसाधनहरूको गतिलाई सीमित पार्न चालकहरूलाई आग्रह गर्ने, त्यसलाई उल्लङ्घन गर्ने चालक, सवारीसाधनहरूका हकमा ट्राफिक प्रहरीले कारबाही गर्ने गरी समन्वय भएको गणपति थापाले जानकारी दिए।
राजमार्ग निकुञ्ज क्षेत्रको अमलेखगंज सडकमा दुई साताअघि पनि चितुवाले एक्कासि सडक पार गर्दा मोटरसाइकल चालक आत्तिएर मोटरसाइकल अनियन्त्रित भई लड्दा घाइते भएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here