प्रस, परवानीपुर, २४ फागुन/
कम्प्युटर एशोसिएशन नेपाल महासङ्घ पर्साको तेस्रो साधारणसभा शनिवार वीरगंजमा सम्पन्न भएको छ। महासङ्घको जिल्ला कार्यसमिति अध्यक्ष दीपक साहको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल तेल, चामल, दाल उद्योग सङ्घका केन्द्रीय अध्यक्ष सुबोधकुमार गुप्ताले क्यानसँगको सहकार्यमा उद्योग–व्यवसायलाई पनि प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिए। देशलाई डिजिटलाइज्ड गर्ने र अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने समयमा राष्ट्रको वर्तमान राजनीतिक परिस्थितिले समस्या उत्पन्न भएको गुप्ताले बताए।
नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्यसमेत रहेका गुप्ताले बन्द–हडताल गरेर उद्योग–व्यवसायमा नोक्सानी ल्याउने कार्य कदापि सह्य नहुने धारणा राखे। बन्दकर्ताले बन्द गर्दैमा बन्द गर्ने र खोल भन्दैमा खोल्ने प्रवृत्तिको अन्त्य गरी सम्पूर्ण व्यवसायी एकताबद्ध भएर बन्दको विरोधमा उत्रिन उनले आग्रह गरे। आर्थिकरूपमा सशक्त भएर एकअर्कासँग हातेमालो गर्दै अगाडि बढ्नुको विकल्प नरहेको गुप्ताले जिकिर गरे।
कार्यक्रममा क्यानका निवर्तमान केन्द्रीय अध्यक्ष हेमन्त चौरसिया, प्रदेश नं २ का अध्यक्ष आलोककुमार चौरसिया, नेपाल पत्रकार महासङ्घ प्रदेश नं २ का अध्यक्ष दीपेन्द्र चौहानलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
प्रविधिको क्षेत्रमा महत्वपूर्ण योगदान दिएको भन्दै अब्दुल कलाम आजाद, विनोद सर्राफ र भानु वैद्यलाई सम्मानसमेत गरिएको थियो। कार्यक्रमको बन्दसत्रमा क्यान महासङ्घ पर्साका सचिव जीवनप्रकाश गुप्ताले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष सञ्जय सक्सेनाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। जिल्ला उपाध्यक्ष प्रशान्त कुमारले स्वागत मन्तव्य राखेको कार्यक्रमको सहजीकरण कार्यसमिति सदस्य आँशु सर्राफले गरेका थिए।