प्रस, निजगढ, २२ माघ/
करैयामाई गाउँपालिका–७ पिपरामा माघ १९ गते राति वन सुरक्षाकर्मीमाथि भएको आक्रमण सुनियोजित भएको बुझिएको छ।
माघ १९ गते राति सवा ११ बजे फरेस्टर जयप्रकाश साह, सशस्त्र वनरक्षक जमदार नवलकिशोर साह, मानबहादुर श्रेष्ठ, नवीन चौधरीलगायतको टोलीमाथि आक्रमण भएको थियो। उनीहरूसँग रहेको एक थान राइफल पनि लुटिएको थियो। लुटिएको राइफल घटनाको तीन घण्टापछि बरामद भएको थियो। आक्रमणमा करैयामाई गाउँपालिका–७ का बलिरामदास थारूलाई वन कर्मचारीहरूले पक्राउ गर्न सफल भएका थिए।
घटनाको बिहानपख फरेस्टर साहको टोलीले पिपरामा रहेको चिरान मिल आसपासबाट एक थान सालको गोलिया बरामद गरेको थियो। सोही विषयलाई लिएर काठ तस्करहरूले आक्रमण गरेको अनुमान गरिएको छ।
सो दिन बिहानको घटनापछि बेलुका २५–३० जनाको तस्कर समूह जङ्गल पसेको सूचना दिइएको थियो। फरेस्टर साहको कमान्डमा रहेका ६ जना र मधुवन सबडिभिजन वन कार्यालयबाट ६ जना गरी १२ जना वन कर्मचारी तस्करी रोक्न जङ्गल प्रवेश गरेका थिए। सोही क्रममा ठूलो सङ्ख्यामा रहेका तस्करहरूले वन कर्मचारीहरूलाई घेरा हालेर आक्रमण गरेका थिए।
बिहान सालको गोलिया नियन्त्रणमा लिने क्रममा वनकर्मीसँग मुखामुख भएको थियो र तस्करहरूले सोको बदला लिन राति आक्रमण गरेको बताइएको छ। फरेस्टर साहले आक्रमणकारीबाट लुकेर ज्यान जोगाएको बताए।
घटना क्रमबाट वन कर्मचारीमाथि आक्रमण गराउने काममा सुराकीसमेतको संलग्नता देखिएको छ। तस्करहरू जङ्गल पसेको सूचना दिएका सुराकीले घटनास्थलनजीक पुग्दा मोबाइलको चार्ज खतम भएको भनी सम्पर्कविहीन भएको फरेस्टर साहले बताए।
वनकर्मीहरूलाई पछि प्रहरीले उद्धार गरेको बारा प्रहरीका प्रवक्ता गौतम मिश्रले बताए।
करैयामाई गापाका अध्यक्ष्F भुवनेश्वर धामीले वन कर्मचारीमाथिको आक्रमण निन्दनीय भएको र घटनाबारे जानकारी पाउनासाथ सो ठाउँमा पुगेर वन कर्मचारीलाई सघाएको बताए।
आक्रमणमा पक्राउ परेका थारूलाई प्रहरीले चार दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको प्रवक्ता मिश्रले बताए।
डिभिजन वन कार्यालय बाराका प्रमुख मञ्जुर अहमदले घटनाबारे प्रहरीमा ज्यान मार्ने उद्योगबारे किटानी जाहेरी दिएको बताए। उनले घाइतेमध्ये दुईजनाको अवस्था सामान्य रहेको र दुईजनाको अवस्थामा अझै सुधार नभएको बताए।