प्रस, वीरगंज, २३ माघ/
संसद् विघटनविरुद्ध आन्दोलन गर्दै आएको जनता समाजवादी पार्टीले शुक्रवार वीरगंजमा साङ्केतिक विरोध प्रदर्शन गरेको छ।
घण्टाघरमा आयोजित सो प्रदर्शनमा जसपाका स्थानीय नेताहरू राजु साह, ओमप्रकाश सर्राफ, सरोज यादव, केन्द्रीय सदस्य रम्भा मिश्र, पोखरिया नगरपालिकाकी उपप्रमुख सलमा खातुन, प्रदेशसभा सदस्य करीमा बेगमले संविधानमा व्यवस्था नभएको संसद् विघटन गरेर प्रधानमन्त्रीले देशलाई अनिर्णयको बन्दी बनाएको आरोप लगाए।
उनीहरूले संसद् पुनस्र्थापना नहुन्जेल जसपाले आन्दोलन जारी राख्ने उद्घोष गरे।
जननिर्वाचित सरकारले संविधानसम्मत काम गर्नुपर्नेमा पुरानो राणाशाही र राजशाही जस्तो कार्य गरेको भन्दै प्रधानमन्त्री ओलीको आलोचना गरे। उनीहरूले जनताविरोधी काम नगर्न सुझाए।
जसपा पर्साका अध्यक्ष रामनरेश यादवको अध्यक्षतामा भएको कार्यक्रममा अर्का अध्यक्ष जगदीश पटेलले स्वागत र सचिव तबरेज अहमदले सहजीकरण गरेका थिए।
प्रस, रौतहट/
संसद् विघटनको विरोधमा शुक्रवार सदरमुकाम गौरमा जनता समाजवादी पार्टीले विरोध जुलुस प्रदर्शन गरेको छ।
जसपाले संसद् विघटन कार्यलाई असंवैधानिक, अलोकतान्त्रिक तथा प्रतिगमनकारी कदमको संज्ञा दिंदै विरोध जुलुस प्रदर्शन गरेको हो।
विरोध तथा आन्दोलनका थप कार्यक्रम अन्तर्गत आज जसपाले विरोध जुलुस निकालेको हो।
प्रदेशसभा सदस्य किशोरी यादव र बाबुलाल साह, गौर नगरपालिकाका प्रमुख अजय गुप्ता, जिल्ला इन्चार्ज बृज यादव, देवाही गोनाही नगरपालिकाका प्रमुख धर्मेन्द्र पटेल, माधवनारायण नगर पालिकाका प्रमुख वीरेन्द्र यादव, उपसभापति रामवशिष्ठ यादव, उपप्रमुख प्रेमलता कुशवाहा, नगर अध्यक्षहरू, भ्रातृ सङ्गठनका पदाधिकारीहरूलगायत कार्यकर्ताहरूको सहभागितामा विरोध प्रदर्शन आयोजना गरिएको थियो।