जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले अहिले आफ्नो गतिविधिलाई बढाएको छ। वीरगंजमा ट्राफिक नियमको पालना गर्ने गराउनेबारेमा ट्राफिक सप्ताह आउनुपथ्र्याे। सडकमा पेन्टिङ गर्ने, विभिन्न स्थानमा पार्किङ, नो पार्किड्ढो साइनबोर्ड झुन्ड्याउने, सडकमा बालबालिकाहरू उतारेर हेलमेटको फित्ता बाँध्न लगाउने, दुई पाङ्ग्रेमा बढीमा दुईजना मात्र बस्न लगाउने, चार पाङ्ग्रेका चालक र अगाडि बस्नेलाई सिट बेल्ट लगाउन लगाउने, बटुवाहरूलाई फूटपाथबाट हिंड्न र सडक पार गर्दा जेब्रा क्रसिड्ढो प्रयोग गर्न लगाउने जस्ता गतिविधि विद्यार्थीहरू खटेर गर्दा ट्राफिक सप्ताह शुरू भएको थाहा हुन्थ्यो र त्यो अवधिमा फुच्चे ट्राफिकबाट लज्जित हुन नपरोस् भनी वीरगंजवासी सवारीचालकहरूले उनीहरूको निगरानीमा पर्ने सबैखाले ट्राफिक नियमको पालना गरेका हुन्थे। अनि ट्राफिक सप्ताह सकिएपछि ट्राफिक प्रहरी पनि सुस्त हुने र आम नागरिक पनि नियमको पालना गर्नुपर्छ भन्ने कर्तव्यबाट विमुख हुने प्रवृत्ति अहिलेसम्म हावी भएको कारण वीरगंजमा ट्राफिक व्यवस्थापन कमजोर भएको हो। ट्राफिक प्रहरीले नियम सिकाएपछि मात्र सिक्ने र सोअनुरूप गर्ने होइन। सबै नागरिकलाई ट्राफिक नियमका बारेमा सिकाएर साध्य पनि हुन्न। हाम्रोजस्तो विकासोन्मुख देशमा साधन स्रोतको अभावले पनि यो सम्भव छैन।
ट्राफिक नियमको बारेमा अनजान पक्षलाई यसबारेमा जानकारी दिने र जानकार पक्षले यसको उल्लङ्घन नगर्ने हो भने आगामी केही दिन, महीना अनि वर्षमा ट्राफिक व्यवस्थापनमा सुधारका सूचक पाउन सकिन्छ। तर अनजानभन्दा जानकारहरूबाट नियमको उल्लङ्घन बढी हुने गरेकाले यसमा आशाप्रदरूपमा सुधार हुन सकेको छैन। सडक, फूटपाथको विकास हुन सकेको छैन। वीरगंज, महानगर भएपनि यहाँ अहिलेसम्म सबैखाले सवारीसाधनहरूको उचित पार्किङ व्यवस्था छैन। बसपार्कबाहेक कुनै पनि सवारीसाधनहरूको पार्किङ व्यवस्था नहुनु नै ट्राफिक समस्याको कारक तत्व हो। शहरमा गुड्ने सार्वजनिक सवारीसाधनहरू अटो, रिक्शा, ईरिक्शा, म्याजिक, सिटीराइड पार्किङ छैन। कहिले कता त कहिले कता उनीहरूले आफ्नो पार्किङ स्थान बनाउनुपरेको छ। जसले गर्दा शहरमा दिनानुदिन ट्राफिक जाम बढ्दै गइरहेको छ। यातायात संस्थानको दश बिघा जग्गा महानगरपालिकाको नाममा आएको दुई दशकभन्दा बढी भइसक्यो। तर त्यहाँ अहिलेसम्म कसैको नाममा पनि पार्क बन्न सकेको छैन। वर्षाैंदेखि खाली जग्गामा जसले जसरी चाहे अतिक्रमण गरेर बसेको छ। जबसम्म कुनै योजना अनुसारको काम सो स्थानमा हुन्न त्यति बेलासम्म अव्यवस्थित पार्किङलाई त्यहीं पार्किड्ढो व्यवस्था गरेर ट्राफिक समस्यालाई हटाउन सकिन्थ्यो। तर अहिलेसम्म न पार्क बन्यो, न पार्किङ।
अहिले जिल्ला ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियमको पालना गराउनका लागि रिफ्लेटिकर स्टीकर सवारीसाधनमा टाँस्ने, सवारीचालकहरूलाई ट्राफिक नियमको पालना गर्न लगाउने जस्ता काम साताव्यापी अभियान बनाएर शुरू गरेको छ। यसले दुर्घटना न्यूनीकरणमा सघाउ पु–याउने कुरामा दुई मत छैन। तर अभियानलाई अहिलेसम्म निरन्तरता प्रदान गर्न नसकिएको कारण यहाँको ट्राफिक भद्रगोल भएको पनि आत्मसात् गर्नुपर्छ।