प्रस, वीरगंज, २२ माघ/
नेकपा प्रचण्ड–माधव समूहले घोषणा गरेको बिहीवारको आम हडतालको प्रभाव वीरगंजमा पनि प–यो। लामो तथा छोटो दूरीका सवारीसाधनहरू सञ्चालनमा आएनन्। महानगरको मुख्य सडकका पसलहरू दिउँसोसम्म बन्द रहे।
आदर्शनगरदेखि घण्टाघर क्षेत्रसम्मका पसलहरू दिउँसो छिटपुट मात्र खुले। अलखियामठदेखि भन्सारसम्म र घण्टाघरदेखि गण्डकसम्मका पसलहरू भने निर्बाधरूपमा सञ्चालन रहे। शैक्षिक संस्था पूर्णरूपमा बन्द रहे भने वित्तीय संस्थाहरू आंशिकरूपमा खुलेका थिए। सवारीसाधनहरूमा साइकल, मोटरसाइकल, अटो, ईरिक्शा निर्बाधरूपमा सञ्चालनमा रहे। छिटपुटरूपमा जीप, कार, भ्यान चले।
बन्द सफल बनाउन नेकपा प्रचण्ड–माधव समूहका कार्यकर्ताहरू बिहानदेखि सक्रिय थिए। प्रहरी पनि ठूलो सङ्ख्यामा बन्द असफल गर्न तैनाथ थिए। आज बिहान प्रचण्ड–माधव समूहका बन्द समर्थक ३१ जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। रहबर अन्सारी, अरविन्द सिंह, मनोज चौधरी, प्रभाकर गुप्ता, अरुण यादव, टुनटुन तिवारी, शिवम साहलगायत नेता, कार्यकर्ताहरूलाई बिहान बन्द गराउने क्रममा प्रहरीले पक्राउ गरेको थियो। उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।
नेता, कार्यकर्ताहरू पक्राउ परेपछि वीरगंज बजार बिस्तारै खुलेको थियो भने सवारीसाधनहरू पनि सञ्चालनमा आएका थिए। बन्दको असर महानगरमा अत्यधिक देखियो भने पर्साको ग्रामीण क्षेत्रमा बन्दको खासै असर देखिएन। केही शैक्षिक संस्था बन्द भए। ग्रामीण क्षेत्रमा सञ्चालित अटो, ईरिक्शा, ट्याक्टर, मोटरसाइकल, साइकल निर्बाधरूपमा सञ्चालनमा रहे।
प्रस, सिम्रौनगढ/
बाराको सिम्रौनगढ बजार बिहान ११ देखि दिउँसो १ बजेसम्म दुई घण्टा बन्द भएको थियो। बिहान १० बजे नेकपा प्रचण्ड–माधव समूहका नेता, कार्यकर्ताहरूले पसलेहरूसँग दुई घण्टाको लागि पसल बन्द गर्न आग्रह गरेका थिए। सिम्रौनगढमा बाहिरबाट आउने सवारीसाधनहरू बन्द भएका थिए।
प्रस, निजगढ/
संसद् पुनर्बहालीको माग राख्दै नेकपा (प्रचण्ड—माधव) समूहद्वारा आह्वान गरिएको देशव्यापी बन्दको असर बिहीवार बिहानैदेखि निजगढमा पनि परेको छ। सो समूहका नेता एकबहादुर श्रेष्ठ, रविराज दङ्गाल, बेनीबहादुर मोक्तान, थानेश्वर सापकोटा, कुमार लामालगायतका नेता, कार्यकर्ताहरू राजमार्गमा बसेर बन्द गराएका थिए। देशव्यापी आम हडताललाई सफल बनाउन हिजो र आज माइकिङ गरी निजी तथा सामुदायिक, सरकारी शैक्षिक संस्था, सरकारी कार्यालय, वित्तीय सङ्घसंस्था, मुख्य बजार, कलकारखाना, उद्योग–व्यवसाय बन्द गर्न आग्रह गरिएको थियो।
राजमार्गमा लामो तथा छोटो दूरीको यातायातका साधन छिटपुटबाहेक चलेका थिएनन्। एम्बुलेन्स, सुरक्षाकर्मीका सवारीसाधनहरू भने चलेका थिए। यातायातका साधनमा रोक लगाएपछि न्यून सङ्ख्यामा लामो दूरीका यात्रुहरू मोटरसाइकलमैं गन्तव्यतर्फ जाँदै गरेका देखिन्थे।
बन्दकर्ताहरूले भोलि काठमाडौंमा हुने नेकपा ओली पक्षको जनसभालाई लक्षित गरी आज बन्दको आह्वान गरेका हुन्। सो जनसभालाई प्रधानमन्त्री केपीशर्मा ओलीले सम्बोधन गर्ने जनाइएको छ। बन्दका कारण राजमार्ग सुनसान थियो  भने जिल्लाका शैक्षिक संस्था, सरकारी कार्यालय, वित्तीय सङ्घसंस्था, मुख्य बजार, कलकारखाना, उद्योग–व्यवसायमा समेत प्रत्यक्ष असर परेको थियो।
प्रस, रौतहट/
प्रचण्ड–माधव समूहको आम हडतालले रौतहटको जनजीवन प्रभावित भएको छ। बिहीवार बिहानदेखि साना तथा लामा दूरीका सवारीसाधन नचलेर जनजीवन प्रभावित भएको हो। आम हडतालका कारण रौतहटका गौर, बङ्कुल, गरुडा, चन्द्रपुर, समनपुर, कटहरिया, गङ्गापिपराका बजार आंशिकरूपमा बन्द थिए।
बजार बन्द गर्ने क्रममा नेकपा प्रचण्ड–माधव समूहका कार्यकर्ताहरूले नारा जुलुससमेत गरेका थिए। नारा जुलुसको क्रममा बजारहरू पूर्णरूपमा बन्द थिए। संसद् विघटन कार्यलाई प्रतिगामीको संज्ञा दिंदै कार्यकर्ताहरूले नारा जुलुस गरेका थिए। गरुडा बजारमा विरोध जुलुसको क्रममा प्रहरीसँग झडप हुँदा ६ जनालाई पक्राउ गरिएको थियो। बन्दको क्रममा अप्रिय घटना नघटेको प्रहरीले जनाएको छ। आम हडतालका कारण जेटिएसम्बन्धी लोकसेवा आयोगको लिखित परीक्षामा सामेल हुन नसकेको परीक्षार्थी दिनेश साहले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here