प्रस, वीरगंज, २२ माघ/
कोरोनाविरुद्ध पहिलो चरणको खोप अभियानमा भन्सार कर्मचारी र सुरक्षाकर्मी पनि परेका छन्।
स्वास्थ्य कार्यालय पर्साका प्रमुख कामेश्वर चौरसियाले वीरगंज भन्सार, सुक्खा बन्दरगाह र एकीकृत सुरक्षा जाँच चौकी (आइसिपी)का कर्मचारी र त्यहाँ खटेका सुरक्षाकर्मीहरूलाई पनि कोरोनाको पहिलो चरणको खोप दिने तयारी भएको बताए। उनले तीनवटै भन्सार कार्यालयका कर्मचारीहरू र सुरक्षाकर्मीहरूको नाम सङ्कलन शुरू भएको र सम्भवतः शनिवारसम्म उनीहरूलाई पहिलो चरणको खोप दिने बताए।
यसअघि, पहिलो चरणको खोप चिकित्सक, स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्सचालक, वारुणयन्त्रचालक, कारागारका बन्दी र वृद्धाश्रमका वृद्धवृद्धाहरूलाई दिइने नीति बनेको थियो। सोहीअनुरूप पर्सा जिल्लामा ५ हजार खोपको पहिलो मात्रामध्ये बुधवारसम्म ४ हजार ३ सय ९४ जनालाई खोपको पहिलो मात्रा दिने कार्य सम्पन्न भएको प्रमुख चौरसियाले बताए। उनले नारायणी अस्पताल, नेशनल मेडिकल कलेज र पोखरिया जिल्ला अस्पतालबाट खोप दिइरहेकोमा अब नारायणी र नेशनलबाट मात्र खोप दिइरहेको बताए।
महानगरबाहेक पालिकाका सफाइकर्मी, स्वास्थ्यकर्मीहरूलाई पोखरिया जिल्ला अस्पतालबाट खोप दिंदै आएकोमा पालिकास्तरको खोप कार्य सम्पन्न भएको प्रमुख चौरसियाले बताए। पालिकास्तरमा खोप दिने कार्य सम्पन्न भएकोले पोखरिया खोप केन्द्र बन्द गरिएको र बिहीवारदेखि वीरगंज महानगरको नारायणी अस्पताल र नेशनल मेडिकल कलेजमा मात्र खोप दिने कार्य भइरहेको बताए।
मापदण्डविपरीत खोप दिएको आरोप
पर्सा जिल्लामा पहिलो चरणको कोरोनाविरुद्धको खोप तोकिएको मापदण्डबाहिरका मानिसहरूले पनि लिइरहेको थाहा हुन आएको छ।
समाचार स्रोतले बागवन्ना स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी बताएर तीनजनाले खोप लिएको प्रकाशमा आएको छ। सो स्वास्थ्यचौकीमा करारमा कार्यरत एकजना कर्मचारीले आफ्ना पितालाई नक्कली स्वास्थ्यकर्मी बनाएर खोप दिलाएको बताइएको छ।
यसैगरी, राजनीतिक दलको ओहदामा रहेका केही व्यक्तिले पनि कोरोनाविरुद्ध खोप लिएको स्रोतले बताएको छ। कोरोनाविरुद्धको खोप चिकित्सक, स्वास्थ्यकर्मी, सफाइकर्मी, वारुणयन्त्र र एम्बुलेन्स चालक, कैदीबन्दी र वृद्धवृद्धाहरूलाई दिइने मापदण्ड बनाइए पनि सोविपरीत अन्य व्यक्तिले पनि खोप लिइरहेको स्रोतले जनाएको छ।
स्वास्थ्य कार्यालय, पर्साका प्रमुख चौरसियाले वीरगंज महानगरको नियमन महानगर स्वास्थ्य कार्यालयले गर्दै आएको बताए। उनले पालिकास्तरमा भने पालिकामा कार्यरत सरसफाइ कर्मचारीहरूलाई सम्बन्धित पालिकाले र स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीहरूले तथा अन्य सरोकारवालाहरूले अनलाइन फाराम भरेर प्राप्त गर्ने नम्बरको आधारमा नागरिकता प्रमाणपत्र र परिचयपत्रसहित तोकिएको खोपकेन्द्रमा खोप लिने कार्य भइरहेको जानकारी गराए। उनले दुरुपयोगको सम्भावना न्यून भएको दाबी गरे।