प्रस, वीरगंज, २१ माघ/
नारायणी अस्पतालको फार्मेसीमा लापरवाही भइरहेको गुनासो आएको छ।
अस्पतालको फार्मेसीबाट अहिले बिरामीहरूले सहजरूपमा औषधि पाउन सकेका छैनन्। अस्पतालका बिरामीहरूको सहजताको लागि फार्मेसी सञ्चालनमा आए पनि अहिले फार्मेसीमा अनियमितता बढेको जनगुनासाहरू आइरहेका छन्। फार्मेसीबाट बिरामीहरूलाई आवश्यक औषधिहरू नपाइरहेको अवस्था छ। चिकित्सकले लेखेका सबैखाले औषधिको व्यवस्थापन फार्मेसीमा हुनुपर्नेमा एकाध औषधि मात्र पाउने गरेको छ।
फार्मेसीमा औषधि अन्यत्रभन्दा निकै सस्तो हँुदा बाहिरका औषधिपसलहरूमा फार्मेसीका औषधिहरू बिक्री हुने गरेको गुनासो छ। महँगा औषधिहरू फार्मेसीबाट बाहिरका पसलहरूमा बिक्री हुने गरेको र कमिशन लिने गरेको गुनासो छ।
यसैगरी, स्वास्थ्य बीमा गरेका बिरामीहरूको नाममा फार्मेसीबाट अनियमितता भएको पाइएको छ। स्वास्थ्य बीमा गराएका बिरामीहरूलाई चिकित्सकले लेख्ने औषधि, तोकिएसरहको दिइँदैन र दिए अनुसारको बिल पनि उनीहरूलाई उपलब्ध गराइँदैन। अहिलेसम्म स्वास्थ्य बीमा गराएका कसैलाई पनि दिइएको औषधि अनुसारको बिल दिइएको छैन। चिकित्सकले लेख्ने औषधिहरूमध्ये एकाध औषधि दिने र स्वास्थ्य बीमा गरेकाहरूको ओपिडी पुर्जीको प्रतिलिपि राख्ने गरिएको छ। बिरामीलाई थोरै औषधि दिएर उनीहरूको पुर्जी अनुसार बिल बनाएर अनियमितता हुने गरेको अस्पताल स्रोतले जनाएको छ।
फार्मेसीको लागि फर्मासिस्टको व्यवस्था अहिलेसम्म अस्पतालले गर्न सकेको छैन। दरबन्दी अनुसार फर्मासिस्टको व्यवस्था नगरी करार कर्मचारीबाट फार्मेसी सञ्चालन गरिंदैछ। राजनीतिक दबाबका कारण फार्मेसीमा अनियमितता भएपनि करारका कर्मचारीको म्याद थपिंदै आएको छ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सञ्जय ठाकुरले फार्मेसीमा अनियमितता भइरहेको र त्यसलाई सुधार्नेतर्फ आफ्नो प्रयास भइरहेको बताए। उनले फार्मेसीमा भइरहेको अनियमितताबारे अहिलेसम्म कुनै बिरामीले उजूरी नगरेको बताए। बिरामीहरूलाई उपलब्ध औषधि अनुसारको बिल लिन र सो उपलब्ध नगराए आफूकहाँ उजूरी गर्न आग्रह गरे। उनले राजनीतिक दबाबमा करारका कर्मचारीको म्याद थप गर्न अस्पताल विकास समिति बाध्य भएको पनि बताए।
अस्पताल विकास समितिका अध्यक्ष पुरेन्द्रकिशोर लाभले फार्मेसीमा सुधारका प्रयास भइरहेको बताए। उनले फार्मेसीकै आम्दानीबाट त्यहाँ कार्यरत कर्मचारीले तलबभत्ता बुझ्नुपर्ने व्यवस्था भएपनि फार्मेसीले आशाप्रदरूपमा आम्दानी गर्न नसकेको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here