प्रस, जनकपुरधाम, २१ माघ/
प्रदेश नं २ प्रदेशसभाको तेस्रो वार्षिकोत्सव नेकपाका ओली पक्षीय प्रदेशसभा सदस्यहरूले बहिष्कार गरेका छन्। प्रदेशसभा सचिवालयले प्रचण्ड–माधव समूहका नेतालाई प्रमुख प्रतिपक्षी दलको नेता मानेपछि नेकपा ओली पक्षले कार्यक्रम बहिष्कार गरेको हो।
पार्टीमा विवाद आउनुअघि संसदीय दलको नेतामा सत्यनारायण मण्डल रहे पनि विवाद शुरू भएपछि प्रदेशसभा सचिवालयले प्रचण्ड–माधव समूहले चयन गरेको संसदीय शत्रुधन महतोलाई दलको नेतामा मान्यता दिएको भन्दै ओली पक्षले बहिष्कार गरेको हो।
बुधवार आयोजित वार्षिकोत्सव कार्यक्रममा प्रदेशसभा सचिवालयले प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा प्रचण्ड–माधव समूहका महतोलाई बोल्न दिएको थियो। उनलाई बोल्न दिएपछि ओली पक्षका सांसदहरूले कार्यक्रम बहिष्कार गरेका थिए। आठ महीनाअगाडि तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकीकरण हुँदा दुवैका नेतालाई मान्यता दिएको तर अहिले आधिकारिकरूपमा दल विभाजन नै नभएको अवस्थामा प्रतिपक्षी दलको नयाँ नेता बनाएको भन्दै ओली पक्षले विरोध गरेको हो।
नेता सत्यनारायण मण्डलले सचिवालयले निन्दनीय काम गरेको भन्दै विरोध जनाए। तत्कालीन माओवादी केन्द्रबाट निर्वाचित भएका मण्डल पार्टीमा विवाद देखिंदा ओली समूहतिर छन्। नेता मण्डल निस्किएको केही बेरमा आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादव र सामाजिक विकासमन्त्री नवलकिशोर साह पनि मञ्च छोडेर बाहिर निस्किए। दुवैले अति आवश्यक काम भएको भन्दै मञ्च छोडेर बाहिरिएका हुन्। यी दुर्ई मन्त्री बाहिरिंदा भौतिक पूर्वाधार विकासमन्त्री जीतेन्द्र सोनल मन्तव्य दिइरहेका थिए।
प्रदेश प्रमुख तिलक परियारको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मुख्यमन्त्री लालबाबूराउत गद्दी पनि सहभागी थिए। कार्यक्रममा काङ्ग्रेस संसदीय दलका नेता रामसरोज यादवले आफूले पूर्णरूपमा सहयोग गरे पनि सरकारको काम नदेखिएको बताए। “विकासका पूर्वाधार जसरी खडा हुनुपथ्र्याे, त्यो हुन सकेको छैन,” उनले भने, “शिक्षा, स्वास्थ्य क्षेत्र धेरै पछाडि छन्।”
प्रचण्ड–माधव समूहको नेकपा संसदीय दलका नेता शत्रुधन महतोले सरकार सहमति जुटाउन चुकिरहेको बताए। “प्रदेशलाई साँच्चिकै आर्थिक समृद्धितर्फ अगाडि बढाउन, जनताको आयस्तर बढाउन, पर्यटन, कृषि, उद्योगतर्फ सरकारलाई जसरी जिम्मेवारीपूर्वक काम गर्नुपर्ने हो, त्यो गर्न सकेको छैन,” उनले भने।
यसैबीच प्रदेशसभाको वार्षिकोत्सव कार्यक्रममा सहभागी एक महिला सांसद कुर्सीमैं बेहोश भएकी थिइन्।  वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा रक्तदान गरेकी महिला सांसद बेहोश भएकी हुन्।
रक्तदान गरेर कार्यक्रममा सहभागी भएकी सांसद किरणराय यादव कुर्सीमा बसेकै अवस्थामा एक्कासि बेहोश भएकी हुन्।
उनी सत्तारूढ जनता समाजवादी पार्टी (जसपा)की सांसद हुन्। कुर्सीमैं अचानक बेहोश भएकी उनलाई अन्य सांसद र सचिवालयका कर्मचारीले प्रदेशसभा सचिवालय भवनको कोठामा लगेर चिकित्सकले उपचार गरेपछि स्वास्थ्य अवस्था सामान्य छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here