प्रस, निजगढ, २१ माघ/
निजगढमा रेलमार्गपीडित सरोकार समिति बुधवार गठन भएको छ। आज भएको भेलाले १७ सदस्यीय सरोकार समिति गठन गरेको छ। सो समितिको संयोजकमा जीतलाल श्रेष्ठ, सहसंयोजक विष्णुबहादुर खड्का, सचिव बालकृष्ण सापकोटा र सदस्यहरूमा मानबहादुर श्रेष्ठ, हरिप्रसाद खरेल, गोविन्दप्रसाद खरेल, कर्णबहादुर लामा, अमिता भण्डारी, समीर तामाङ, चण्डिका थापा, सुमित्रा पौड्याल, खडगध्वज श्रेष्ठ, कृष्ण सुवेदी, इन्दीप कोइराला, भूमिध्वज खड्का, प्रदीप उप्रेती र हेमलाल श्रेष्ठ रहेका छन्।
मेची–महाकाली विद्युतीय रेलमार्ग विस्तारका लागि निजगढ नगरपालिकाको भमरा, नदीकाट, ठाडो लाइन, तेस्रो लाइन, प्रभातबस्ती, बोडिङ टोल, जमुनापैनी टोल, शान्तिटोल, राजमार्ग क्षेत्र बजारटोल, बुद्धचोक, गुम्बाटोल, कभर्ड हल आसपास क्षेत्र, असी बिघा, पुरानो निजगढ कछडियाबस्ती हुँदै रतनपुरी लाल, चिसापानी, घैयाखोरिया, बुङजोर, बारथली, रामथली, कुलिया, भक्तलाल, डमरपुरलगायतका मानवबस्ती, खेतीयोग्य जमीन भएर डिपिआरका लागि विस्तृत सर्भे गरिएको थियो।
उक्त सर्भे कार्य गरिरहँदा रेल विभाग, सर्भेको जिम्मेवारी लिएको फुलब्राइट कन्सल्ट्यान्ट, सर्भेमा खटिएका कर्मचारीले स्थानीय तह निजगढ नगरपालिका, जनप्रतिनिधि, सम्बन्धित निकाय, जग्गाधनीलगायतलाई कुनै जानकारीसमेत नदिई सर्भे गर्दै नम्बरी जमीनमा पिलर गाडेको थाहा पाएपछि स्थानीयले अवरोधसँगै सो कार्य रोकेका थिए।
सो सर्भे रोकेको दुई सातापछि निजगढ नगरपालिकाको समन्वयमा रेल विभागका सिनियर डिभिजन इन्जिनीयर देवेन्द्रप्रसाद साहसहितको प्राविधिक टोली, फुलब्राइट कन्सल्ट्यान्टका प्रमुख मञ्जुलकृष्ण मानन्धर र प्राविधिकहरूसँगको छलफलमा मानवबस्ती, खेतीयोग्य जमीनको विनाश नहुने गरी चौथो मार्ग विकल्पका रूपमा बकैया खोलापारिको पश्चिमी किनार हँुदै रेलमार्ग लैजान सकिने अधिकांश निजगढवासीले सुझाव दिएका थिए।
त्यसयता रेलमार्गका बारेमा आधिकारिक कुरा बाहिर नआएपछि प्रभावित बस्तीका स्थानीयहरूको गौरीशङ्कर क्याम्पस परिसरमा भएको भेलाले सो सरोकार समिति गठन गरेको हो।