प्रस, वीरगंज, २१ माघ/
जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्साले ट्राफिक सचेतना कार्यक्रमलाई निरन्तरता दिएको छ।
ट्राफिक नियम पालना गराइ दुर्घटना न्यूनीकरणको लागि ट्राफिक कार्यालय पर्साले वीरगंज महानगर र महानगरबाहिरका क्षेत्रमा ट्राफिक नियमसम्बन्धी सचेतना कार्यक्रम चलाउँदै आएको छ।
ट्राफिकले साताव्यापी रिफ्लेटिकर स्टिकर टाँस्ने अभियानलाई पनि निरन्तरता दिंदै आज पाँचौं दिन वीरगंज सुक्खा बन्दरगाहमा सवारीसाधनहरूमा सो स्टिकर टाँसेको छ। करीब दुई सय सवारीसाधनमा स्टिकर टाँसेको व्यवस्थित वीरगंज अभियानका अध्यक्ष दिलीप कार्कीले बताए।
यसैगरी, ट्राफिकले वीरगंजको अलौं र पोखरिया नगरपालिकामा पनि ट्राफिक नियम पालनासम्बन्धी सचेतना कार्यक्रम गरेको छ। अलौंमा अस्थायी ट्राफिक प्रहरी चौकीका प्रहरी हवल्दार अनोज चौरसियाले ३९ वटा ट्याक्टरमा नम्बर प्लेट लेख्न लगाएको र चालकहरूलाई सवारी नियमसम्बन्धी सचेतना गराएका थिए। ओभरटेक नगर्न, तीव्र गतिमा सवारीसाधन नचलाउन र सवारी नियम पालना गर्न उनले चालकहरूलाई सचेत गराएको ट्राफिक प्रहरी कार्यालय पर्साका प्रनि सुमन कार्कीले बताए।
यसैगरी, पोखरिया–२ बजारचोकमा ३५ जना चालकलाई प्रहरी हवल्दार दिनेशप्रसाद कुशवाहाले कागजपत्रसहित सवारी चलाउन, ओभरटेक नगर्न, तोकिएकोभन्दा बढी यात्री नराख्न, तीव्र गतिमा सवारी नचलाउन र ट्राफिक नियम पालना गर्न सचेत गराएको प्रनि कार्कीले बताए।
ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्रका लागि लिखित परीक्षा दिएका २०१ जना परीक्षार्थीलाई पनि ट्राफिक नियमबारे जानकारी गराएको छ। चालक अनुमतिपत्रका लागि परीक्षा दिने परीक्षार्थीहरूको लागि सवारी नियम, दुर्घटना न्यूनीकरणसम्बन्धी प्रसनि किरण कार्कीले प्रशिक्षण दिएको प्रनि कार्कीले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here