प्रस, जनकपुर, १९ माघ/
जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयमा अख्तियारले सोमवार छापा मारेको छ। जनकपुरधाम उपमहानगरपालिकाको कार्यपालिकाको कार्यालयले विकास निर्माणको नाममा अनियमितता गरेको उजूरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले छापा मारेको होे।
आयोगका उपसचिव मणिराम ज्ञवाली नेतृत्वको टोलीले उपमहानगरपालिकामाथि परेका उजूरीहरूको छानबिन गर्न थालेको छ। मुद्दा शाखाको कामकारबाई, लेखा शाखा, जिन्सी शाखामा भए गरेका कामकाजको अभिलेख प्रणालीको सन्दर्भमा टोलीले अनुगमन तथा निरीक्षण गरेको उपसचिव ज्ञवालीले बताए।
टोलीले चारवटा उजूरीमाथि छानबिन गरिसकेको छ भने बाँकी दर्जनौं उजूरीमाथि छानबिन जारी रहेको ज्ञवालीले बताए।