प्रस, वीरगंज, १९ माघ/
जनता आवास कार्यक्रम पर्सा, बारा, रौतहटमा सफल हुन सकेको छैन। शहरी विकास तथा भवन निर्माण कार्यालय पर्साका प्रमुख रामचन्द्र साहले बजेट पठाउन ढिला भएकोले कार्यक्रमले प्रतिफल नदिएको बताए।
पर्सा, बारा, रौतहटमा गत वर्ष शुरू भएको जनता आवास कार्यक्रम अन्तर्गत घर निर्माणबापत रु १० करोड भुक्तानी दिनुपर्नेमा आज सङ्घीय सरकारले प्रदेश सरकारमार्फत रु ६ करोड ६४ लाख मात्र पठाएको बताए। यस वर्ष पर्सा, बारा, रौतहटमा ३ हजार घर निर्माणको लक्ष्य रहेको उनले बताए। अहिले तीनवटै जिल्लामा घर निर्माण कार्य सुरुआती अवस्थामा छ। गत वर्ष ३१ सय ८६ घर निर्माणको लक्ष्य रहेकामा पर्सामा १७५ र बारामा १५० घर निर्माण हुन बाँकी छ। दलित, अतिविपन्न, भूमिहीनले जग्गा प्राप्त गर्न नसकेको र स्थानीय पालिकाले पनि उनीहरूको लागि जग्गाको व्यवस्थापन गर्न नसक्दा घर निर्माणमा ढिला भएको बताइएको छ।
पर्सा जिल्लामा गत वर्ष ९२५, बारामा ९९३ र रौतहटमा १२५० परिवारका लागि घर बनाउने लक्ष्य थियो। सोअनुरूप रौतहटमा मात्रै शतप्रतिशत घर निर्माण भएको छ। रौतहटमा घर निर्माण सम्पन्न भएपनि २१३ वटा घर निर्माणबापतको भुक्तानी बाँकी छ।
घर निर्माणको लागि उपभोक्ता समितिमार्फत काम गर्दा समस्या भएको हो। कतिपय उपभोक्ता समितिले किस्तामा रकम उठाउने तर सम्बन्धित काममा खर्च नगरेकाले जनता आवास कार्यक्रम अन्तर्गत घर निर्माण कार्य प्रभावित भएको हो।