प्रस, परवानीपुर, १९ माघ/
प्रदेश २ मातहतको यातायात व्यवस्था कार्यालय सवारी वीरगंजले कोरोना महामारीको कारण चालू आव पछिल्लो ६ महीनामा ५ करोड रुपैयाँ कम राजस्व सङ्कलन गरेको छ।
गत आव २०७६/०७७ को तुलनामा चालू आवको गत साउनदेखि पुस मसान्तसम्म करीब रु ५ करोड कम राजस्व सङ्कलन गरेको छ।
गत साउन, भदौमा कोरोना महामारीले सामाजिक दूरी कायम गरी कार्यालय आंशिकरूपमा चलाउनुपरेको र प्रदेश २ सरकारले सवारी दर्तामा सरुवा सहमति शुल्क तोकेको कारण वीरगंज नाकाबाट कम गाडी भित्रिदा राजस्वमा प्रतिकूल असर परिरहेको कार्यालय प्रमुख कुशेश्वर साहले बताए। उनका अनुसार गत आव २०७६/०७७ को गत साउनदेखि पुस मसान्तसम्म करतर्फ रु ५३ करोड ७६ लाख ९७ हजार ८७, दर्ता दस्तुरतर्फ
रु ६ करोड ९० लाख ९३ हजार ३ सय ७८ र रूट परमिटतर्फ रु ४ करोड ३७ लाख २८ हजार ९ सय ८ गरी कुल रु ६५ करोड ५ लाख १९ हजार ३ सय ७३ सङ्कलन भएकोमा चालू आव २०७७/०७८ को गत साउनदेखि पुस मसान्तसम्म रु ६० करोड ८७ लाख ९१ हजार ९७ मात्र राजस्व सङ्कलन भएको उनले बताए। चालू आवको पछिल्लो ६ महीनामा करतर्फ रु ५१ करोड १७ लाख ७८ हजार ५ सय ८०, दर्ता दस्तुरतर्फ रु ६ करोड ४२ लाख ५८ हजार ५ सय ३२ र रूट परमिटतर्फ रु ३ करोड ३७ लाख ५३ हजार ९ सय ८५ राजस्व सङ्कलन गरेको छ।
शीर्षक अनुसार करमा मात्रै करीब रु २ करोड, दर्ता दस्तुरतर्फ करीब रु ५० लाख र रूट परमिटतर्फ करीब रु १ करोड कम राजस्व उठेको यातायात व्यवस्था कार्यालय सवारी शाखा वीरगंजका कम्प्युटर अपरेटर सञ्जय पटेलले जानकारी गराए। चालू आवको ६ महीनामा सुरुआती दुर्ई महीना राजस्व सङ्कलन प्रभावित भए तापनि हाल दुर्ई महीनादेखि राजस्व सङ्कलनमा सकारात्मक वृद्धि देखिएको कार्यालयले जनाएको छ।