प्रस, परवानीपुर, १७ माघ/
प्रतीक दैनिकका प्रधान सम्पादक जगदीशप्रसाद शर्माले आर्थिक नगरी वीरगंज बनियाँहरूको शहर भएको बताएका छन्।
इकोनोमिक रिपोर्टर्स एशोसिएशन नेपाल (एरा)को आयोजनामा शनिवार वीरगंजमा आयोजित समीक्षा तथा सम्मान कार्यक्रममा प्रमुख अतिथि शर्माले वीरगंजका उद्योगी–व्यवसायी बनियाँ
(ट्रेडिङ गर्ने व्यवसायी) मात्र बन्ने कोशिश गरेको बताए।
उनले वीरगंजका व्यवसायीहरू बाहिरबाट सामान ल्याउने र केही प्रतिशत नाफा लिएर उक्त सामान बेच्ने काममा मात्र लागेको चर्चा गर्दै यहाँका उद्योगी–व्यवसायीले इनोभेशन गरेर उद्योग–व्यापार अगाडि नबढाएकाले सक्ने जति विकास र अगाडि बढ्न नसकेको बताए। उनले भने, “एकताका एक व्यवसायीले कपडा उद्योग खोले, त्यसपछि सबै त्यही बाटोमा लागे, त्यसपछि वनस्पति घ्यू उद्योग लगाउने होडबाजी चल्यो, जसले गर्दा करोडौंको लगानी विनाकामको बनेको छ।” उनले पर्सामा कुम्हाल र लोहारहरूको पेशा ओझेलमा परेको अवस्थामा पत्रकारहरूले त्यस्ता व्यवसायको बारेमा कलम चलाउनुको साटो कर्पोरेट क्षेत्र, नेता, उद्योगी–व्यवसायीको पछि झुन्डिएकाले लेख्ने विषयवस्तु ओझेलमा परेको बताए।
सोही कार्यक्रममा नेपाल पत्रकार महासङ्घ प्रदेश २ का अध्यक्ष दीपेन्द्र चौहानले वीरगंजका उद्योगी–व्यवसायी विज्ञापन दिने र पत्रिका किन्ने मामिलामा उदासीन देखिएको बताए। उनले भने, “सबै व्यापारी नराम्रा छैनन्, तर केही व्यवसायीले गल्ती गरेर पनि आफ्नो गतिविधि अगाडि बढाएका छन्। उनीहरूको संरक्षण गर्नु पत्रकारको धर्म होइन।”
नेपाल पत्रकार महासङ्घ पर्साका सभापति श्याम बन्जाराले वीरगंजको आदर्शनगर क्षेत्रका घरधनीले एउटा पसलको भाडा अस्वाभाविकरूपमा वृद्धि गरी सटरको भाडा लिने काम गलत भएकोले त्यसलाई वीरगंज उद्योग वाणिज्य सङ्घले छानबिन गरी ठगी गर्ने व्यवसायीलाई दण्डित गर्नुपर्ने बताए।
नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यकारिणी सदस्य तथा नेपाल चामल तेल दाल सङ्घका अध्यक्ष सुबोध गुप्ताले १५ वर्षदेखि चामल आयातमा सरकारले न्यून भन्सार महसूल राख्दा समस्या भइरहेको आवाज उठाए पनि सरकारको कानमा त्यो आवाज पुग्न नसकेको बताए।
उद्योगी अशोक टेमानीले बङ्गलादेश, भुटान, भारत र नेपाललाई जोड्ने प्रोजेक्ट (बिबिआइएन)को बारेमा आर्थिक पत्रकारहरूले कलम चलाउनुका साथै पर्यटन व्यवसायबारेमा पनि गम्भीर बन्न आग्रह गरे।
उद्योगी अशोक बैदले वीरगंजको उद्योग–व्यवसायको क्षेत्रमा एराले सराहानीय काम गर्दै आएको चर्चा गर्दै आगामी दिनमा पनि सहयोग गर्ने बताए।
कार्यक्रममा वीरगंज उद्योग वाणिज्य सङ्घको नेतृत्व गर्दै नेपाल उद्योग वाणिज्य महासङ्घमा निर्वाचित गोपाल केडिया, सुबोध गुप्ता, खोज पत्रकारिता केन्द्रका अध्यक्ष चन्द्रकिशोर झा र नेपाल पत्रकार महासङ्घ प्रदेश नं २ का अध्यक्ष दीपेन्द्र चौहानलाई सम्मानपत्रसहित प्रमुख अतिथि शर्माले सम्मान गरेका थिए।
एराले आगामी कार्यकालको लागि संयोजकमा पत्रकार ओमप्रकाश खनाललाई चयन गरेको छ। एराका निवर्तमान अध्यक्ष रितेश त्रिपाठीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पत्रकार राधेश्याम पटेलले सहजीकरण गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here