प्रस, वीरगंज, १७ माघ /
मानव अधिकार तथा शान्ति समाजका संस्थापक कृष्ण पहाडीले प्रधानमन्त्री केपी ओली अधिनायकवादतर्फ उन्मुख रहेकाले देशको शान्ति खलबलिन सक्ने बताएका छन्।
शनिवार वीरगंज कलेजको सभाकक्षमा आयोजित मानव अधिकार तथा शान्ति समाज पर्साको साधारणसभामा बोल्दै उनले प्रम ओलीको कारण लोकतन्त्र खतरामा परेको बताए। उनले नेपालमा सङ्घीय गणतन्त्र नागरिकको बलबूतामा आएको बताए। उनले अदालतमा विचाराधीन रहेको मुद्दालाई दुष्प्रभावमा पार्न खोजिएकोले प्राप्त उपलब्धिहरू समाप्त हुन सक्ने बताए। उनले प्रधानमन्त्री ओलीले संविधानमा उल्लेख गरिएका कुरालाई पढ्न र बुझ्न जरुरी रहेको बताए।
कार्यक्रममा मानव अधिकारकर्मी उत्तम पुडासैनीले संविधानको रक्षा मानव अधिकारको रक्षा रहेको बताए। उनले शान्ति तथा सद्भाव मानव अधिकार तथा शान्ति समाजको एकमात्र लाइन रहेको बताए। नेपालमा लोकतन्त्रको रक्षा र विकासले दुवै छिमेकी राष्ट्रलाई पनि फाइदा पुग्ने बताए।
मानव अधिकार तथा शान्ति समाज पर्साका अध्यक्ष अमर गौतमको सभापतित्वमा र वीरगंज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा गणेश लाठ, गोविन्द खनाल, अजुर्ण पुडासैनीलगायतले मन्तव्य राखेका थिए।
कार्यक्रमको सहजीकरण समाजका प्रेम पटेलले गरेका थिए।