– समीर पाख्रिन
भाइटीकाको दिन बिहानै सासूआमाका दुई भाइ आइपुगे। घरकी बुहारी रोशनीकी नन्द, आमाजू दशैंदेखि यतै भएकाले काकाका छोराहरू पनि भाइटीका लगाउन यतै आए।
भाइटीकाको दिन ठूलै जमघट र रमझम भयो। सबैजना भेला भएको मौका छोपी मज्जाले खाए, पिए, फोटो खिचेर रमाइलो गरे। माइतीमा सूतक परेकोले रोशनीको मात्र तिहार छेकियो। रोशनी तिहार छेकिएकोमा दुःिखत थिइन् तर उसले आफ्नो खिन्नता कसैलाई देखाउन चाहिनन्। पाहुनाहरूको सेवा सत्कारमा ऊ बिहानैदेखि व्यस्त थिइन्।
साँझसम्म पाहुनाहरू खानपिन गरी फर्किसकेका थिए। दुई छोरीमध्ये कान्छी चाहिं आमासित बसेर ससुरालीको कुरा काट्न व्यस्त थिइन् तर जेठी भने बुहारी रोशनीलाई कतै नदेखेपछि खोज्दै भान्सासम्म पुगिन्।
रोशनीलाई भान्सामा जूठो भाँडा अघिल्तिर थुपारेर बसेके देखेपछि उनलाई आफू बिहे गरेर गएपछिका दिनहरूको याद झलझली आयो। सासूको खटन र शासनमा बितेका कठिनाइपूर्ण दिनहरू उनको आँखामा नाँच्न थाले। भाँडा माझ्न व्यस्त रोशनीले आमाजू ऊनजीकै आएर उभिएकी पनि पत्तै पाइनन्।
“खै, अलिक पर सर बुहारी। म मस्काउँछु तिमी पखाल,” उनी यति भनी फरियाको सप्को कम्मरमा घुसारेर रोशनीनजीकै बसिन्।
“ल दिदी के गर्नुभएको ? अँह हुन्न। आमाले देख्नुभयो भने मलाई कराउनुहुन्छ। हजुर गएर आराम गर्नोस्। यति काम त म गरिहाल्छु नि,” रोशनीले भनी।
“चुप लाग १ बिहानदेखि एक क्षण आराम गर्न पाएकी छैनौं। म मस्काउँछु तिमी पखाल,” उनले यति भनी कुकर र थाल सबै मस्काउन थालिन्। पहिले त रोशनी हेरेको हेरेकै भइन्।
“ल, के हेरेकी ट्वाल्ल परेर ? म पनि तिमी जस्तै बुहारी हुँ। मलाई बुहारीको पीडा थाहा छ। अप्ठेरो मान्नै पर्दैन,” आमाजूको कुरा सुनेपछि रोशनी चुप भइन् र आफ्नो काममा लागिन्।
यता निकै बेरसम्म पनि जेठी छोरी सुत्न नआएपछि बूढीआमालाई खुल्दुली भयो र उनी चोटा–कोठा खोज्दै भान्सासम्म पुगिन्।
जेठीलाई भान्सामा बुहारीसँगै धमाधम जूठो भाँडा मस्काउँदै गरेको देखेपछि बूढीलाई रन्को छुटेछ कि क्या हो कराइन्, “ए, नकचरी १ दुई दिन माइत आएर बसेकी मेरी छोरीलाई जूठो भाँडा माझ्न लगाएकी तैले ?”
“आमा, मलाई रोशनीले अ–हाएकी होइन। भाँडाको थुप्रो देखेर मैले नै बुहारीलाई सघाएकी। आखिर म पनि त ऊजस्तै कसैकी बुहारी हुँ।” बूढीले कुरा बुझी कि कसो थप कुरा गरिनन्।
“ल ल घरधन्धा सकेर सुत्न आऔं दुवैजना,” यति भनी बूढी लुरुलुरु आफ्नो कोठातिर लागी।
हालः ललितपुर, काठमाडौं