प्रस, वीरगंज, १५ माघ/
पूर्व सांसद एवं नेपालका उद्यमी नेपाली काङ्ग्रेसका नेता विनोद चौधरीले मागीखाने तथा ठगीखानेभन्दा पनि गरिखाने समयको मागलाई मध्यनजर गर्दै वीरगंजबाट गरिखाने अभियानको सुरुआत गरेको बताएका छन्।
नेपाल प्रेस युनियन, पर्साले वीरगंजको लर्ड दियालो प्लाजामा आयोजना गरेको पत्रकार सम्मेलनमा उद्यमी चौधरीले देशका क्षमतावान् तथा प्रतिभावान् शक्ति वैदेशिक रोजगारमा पलायन भइरहेकामा दुःख व्यक्त गरे। उनले विदेशमा सिकेको सीप र अनुभवलाई स्वदेशमैं उपयोग गर्ने वातावरण निर्माण गर्न आफूहरू लागिपरेको दाबी गरे। चौधरीले आपूर्ति र उत्पादनबीचको खाडल पुर्नुपर्नेमा जोड दिए।
उनले दीर्घकालीन सोच र आत्मविश्वास बोकेका युवा जमातको क्षमता र दृष्टिकोणलाई कार्यान्वयन गरी सार्थक रूप प्रदान गर्ने अभिप्रायले सातवटै प्रदेशमा आफूले यो अभियान शुरू गर्ने बताए। उद्यम र व्यवसायको हिसाबले अग्रपङ्क्तिमा पहिचान बनाएको वीरगंजबाट गरिखाने अभियानको शुभारम्भ गरेको बताउँदै उनले धेरै युवालाई रोजगार दिनुका साथै रोजगार पाउन योग्य बनाउने प्रतिबद्धता पनि जाहेर गरे।
पत्रकार सम्मेलनमा पूर्वमन्त्री सुरेन्द्र चौधरी, संविधानसभा सदस्य अनिल रूँगटा, नेका पर्साका सभापति अजय द्विवेदी, मकवानपुरका सभापति इन्द्र बाँनिया, रौतहटका सभापति कृष्ण यादव, सिम्रौनगढ नपाका प्रमुख विजयशङ्कर यादव, नेविसङ्घ पर्साका पूर्वअध्यक्ष दिलीपराज कार्की, नेपाल पत्रकार महासङ्घका प्रदेश अध्यक्ष दीपेन्द्र चौहान, पर्सा शाखा अध्यक्ष श्याम बन्जारालगायतको सहभागिता थियो।
यसअघि हिजो साँझ गरिखाने अभियानबारे स्थानीय उद्योगी, व्यवसायी, सञ्चारकर्मी, राजनीतिक दल, शिक्षक, प्राध्यापकहरूसँग पनि छलफल भएको थियो। हिजोको छलफलमा वीरगंज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्षहरू बाबुलाल चाचान, अशोक बैद, उद्योगी जगदीश अग्रवाल, वीउवासङ्घका महासचिव माधव राजपाल, प्रतीक दैनिकका प्रधानसम्पादक जगदीशप्रसाद शर्मा, डा दीपक शाक्य, सुशील भट्टराई, विनोद गुप्ता, पर्सागढी नपाका प्रमुख लोकनारायण यादव, उपप्रमुख अर्चना चौधरी, पटेर्वासुगौली गापाका उपाध्यक्ष ममता महतोलगायतको सहभागिता थियो।
पत्रकार सम्मेलनमा अभियानका सहसंयोजक अनिल रूँगटाले नेपालीको जीवनस्तर रूपान्तरण गर्ने गरी गरिखाने अभियान शुरू गरिएको बताए। उनले नेपालका ६० लाख युवा जमात रोजगार र उद्यमको बजारमा रहेको बताउँदै उनीहरूको हातमा इन्टरनेट छ, देश दुनियाँ देखेका छन् र उनीहरूका आकाङ्क्षा र सपना पूरा गर्न राज्यले अवसर खोल्नुपर्ने सुझाव दिए। यसो नभएको खण्डमा मुलुक सामाजिक द्वन्द्वमा जान सक्ने बताए।