प्रस, परवानीपुर, १५ माघ/
    सरकारले ५० हजार अमेरिकी डलरभन्दा महँगो गाडीको आयातमा अङ्कुश लगाइदिएपछि वीरगंजस्थित श्रीसिया सुक्खा बन्दरगाह भन्सार नाकाबाट विलासी गाडीको आयात ठप्प भएको छ। राजस्व सङ्कलनमा मुख्य योगदान पु–याउने वस्तु विलासी सवारीसाधन भए तापनि सरकारले त्यस्ता गाडीको आयातमा बन्देज लगाइदिएपछि बन्दरगाह भन्सार कार्यालयको राजस्व असुली डगमगाएको छ। अर्काेतिर गत वर्षभन्दा लक्ष्य पनि वार्षिक करीब रु ३ अर्बको हाराहारीमा बढाएपछि सुक्खा बन्दरगाह भन्सार कार्यालयलाई राजस्व सङ्कलन गर्न असहज भएको भन्सार अधिकृत तथा सूचना अधिकारी चूडामणि शर्मा कट्टेलले जानकारी दिए। उनको अनुसार चालू आवको १२ महीनाको लागि रु ४४ अर्ब ६३ करोड ३ लाख ६२ हजार राजस्व लक्ष्य पाएकोमा हालसम्म रु १७ अर्ब ५३ करोड ६ लाख ७८ हजार मात्र राजस्व सङ्कलन भएको छ। जसमध्ये पुस मसान्तसम्म रु २२ अर्ब ३२ करोड ६९ लाख ४४ हजार लक्ष्य तोकिएको थियो। पुस मसान्तसम्म लक्ष्यभन्दा करीब रु ५ अर्ब कम राजस्व असुली भएको देखिएको छ। पुस मसान्तसम्म भन्सार महसूलतर्फ  रु ८ अर्ब १७ करोड २९ लाख राजस्व लक्ष्य पाएकोमा रु ७ अर्ब ५७ करोड ५ लाख, मूअकतर्फ रु ११ अर्ब ८५ करोड ३३ लाख लक्ष्य पाएकोमा रु ८ अर्ब ५५ करोड ६६ लाख, अन्तःशुल्कतर्फ रु २ अर्ब १४ करोड २५ लाख लक्ष्य पाएकोमा रु ९५ करोड ८९ लाख ६७ हजार, भन्सार महसूलतर्फ रु २५ लाख २८ हजार लक्ष्य पाएकोमा रु २ लाख ६३ हजार, कृषि सुधार शुल्कतर्फ रु १४ करोड २८ लाख ६४ हजार लक्ष्य पाएकोमा रु ३५ करोड ४० लाख ५३ हजार, भन्सारसम्बन्धी अन्य आयतर्फ रु १ करोड २७ लाख ३७ हजार लक्ष्य पाएकोमा रु १ करोड ३६ लाख ५४ हजार गरी कुल रु २२ अर्ब ३२ करोड ६९ लाख लक्ष्य पाएकोमा रु १७ अर्ब ५३ करोड ३० लाख राजस्व सङ्कलन भएको भन्सार कार्यालयले जनाएको छ। चालू आवको पछिल्लो ६ महीनामा साउनमा रु १ अर्ब ७८ करोड २७ लाख लक्ष्य पाएकोमा १०४.६७ प्रतिशत अर्थात् रु १ अर्ब ८६ करोड ६० लाख, भदौमा रु ३ अर्ब १२ करोड ५७ लाख लक्ष्य पाएकोमा ८०.५८ प्रतिशत अर्थात् रु २ अर्ब ५१ करोड ८७ लाख, असोजमा रु ४ अर्ब ४६ करोड २६ लाख राजस्व लक्ष्य पाएकोमा ८६.९३ प्रतिशत अर्थात् रु ३ अर्ब  ८७ करोड ९६ लाख राजस्व सङ्कलन भएको थियो। चालू आवमा सबैभन्दा बढी कात्तिक महीनामा राजस्व सङ्कलन भएको थियो। उक्त महीनामा रु २ अर्ब ५ करोड ४२ लाख राजस्व लक्ष्य पाएकोमा १५१.४८ प्रतिशत अर्थात् रु ३ अर्ब ११ करोड १६ लाख, मङ्सिरमा रु ४ अर्ब ९२ करोड २६ लाख राजस्व लक्ष्य पाएकोमा ६०.२४ प्रतिशत अर्थात् २ अर्ब ९६ करोड ५४ लाख र गत महीना पुसमा अत्यधिक लक्ष्य रु ५ अर्ब ९७ करोड ८८ लाख पाएकोमा ५३.३४ प्रतिशत अर्थात् रु ३ अर्ब १८ करोड ९० लाख गरी पछिल्लो ६ महीनामा रु १७ अर्ब ५३ करोड ६ लाख ७८ हजार राजस्व सङ्कलन भएको छ। पछिल्लो मङ्सिर र पुस महीनामा लक्ष्य बढी भएपछि असुली प्रभावित भएर समग्र ६ महीनाको राजस्व सङ्कलनमा कमी आएको भन्सार अधिकारीहरू बताउँछन्। चालू आवको १२ महीनाको लक्ष्य रु ४४ अर्ब ६३ करोड ३ लाख ६२ हजारको अनुपातमा पुस मसान्तसम्म असुली भएको रु १७ अर्ब ५३ करोड ६ लाख ७८ हजार राजस्व जम्मा ३९.२८ प्रतिशत हो। अर्थात् आगामी ६ महीनामा रु २७ अर्ब ९ करोड ९६ लाख ८४ हजार राजस्व सङ्कलन गर्नुपर्ने भार बढेको छ। चालू आवको माघमा भन्सार कार्यालयले रु ३ अर्ब ५७ करोड ५१ लाख, फागुनमा रु ३ अर्ब ५६ करोड ९९ लाख, चैतमा रु ३ अर्ब ५६ करोड ८५ लाख, वैशाखमा रु ४ अर्ब १ करोड २४ लाख, जेठमा रु ४ अर्ब १ करोड ९ लाख र असारमा रु ३ अर्ब ५६ करोड ६४ लाख राजस्व उठाउने लक्ष्य पाएको छ। चालू आवमा गत आवभन्दा लक्ष्य बढाइनु र अर्काेतर्फ विभिन्न सामानको आयातमा बन्देज लगाउनु र कोरोना महामारीको कारण कम सामान आयात हुनुले असर परेको सूचना अधिकारी कट्टेलको भनाइ छ। उनले भने, “महँगा गाडी, केराउ,  छोहोडालगायतको आयात बन्द छ, विगतमा केही महीना औद्योगिक कच्चा पदार्थ फलाम, गेंडागुडी पनि कम आयात भएकोमा अहिले दलहन तथा पिनाको आयातमा वृद्धि भएको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here