प्रस, वीरगंज, १५ माघ/
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री एनपी साउदले देशको विद्यमान राजनीतिक अवस्थाले नेकाको महाधिवेशन फागुनमा गर्न नसकिने बताएका छन्।
नेका बाराको विपी स्मृति भवनमा आयोजित छलफल कार्यक्रममा नेता साउदले फागुनमा महाधिवेशन गर्न नसकिने भन्दै भदौसम्ममा पार्टीको महाधिवेशन सम्पन्न गर्ने चुनौती थपिएको बताए। देशको वर्तमान राजनीति सम्बन्धमा उनले पार्टीको झगडामा प्रधानमन्त्री ओलीले संसद् विघटन गरी देशको राजनीतिलाई अन्योलतातर्फ धकेलेको आरोप लगाए। उनले नेपाली जनताले नेकपालाई ५ वर्षसम्म सरकार सञ्चालन गर्न मत दिएकोमा सो मतलाई धोती लगाएर संसद् विघटन गरी मुलुकमा अधिनायकवाद लाद्न खोजेको आरोप लगाए।
नेता साउदले संसद् विघटन गरी मध्यावधि निर्वाचनको घोषणा गरेर सरकारले नेपाली जनतालाई निर्वाचनको भार लादेको बताए। उनले संसद् पुनस्र्थापनाले मुलुकमा अस्थिरता बढ्न गई राजनीतिक जटिलता बढ्ने बताए। संविधान रक्षाको लागि सम्पूर्ण नेपाली जनता एक ढिक्का भएर अगाडि बढ्न आग्रह गरे।
छलफल कार्यक्रम नेका बाराका सभापति जयचन्द्र चौरसियाको अध्यक्ष्Fतामा भएको थियो। कार्यक्रममा पूर्वमन्त्री गोविन्दबहादुर शाह, कलावती पासवान, पूर्वसांसद मधु शाही ठकुरी, रामअयोध्या यादव, शोभाकर पराजुली, नेका बाराका उपसभापति सुरेन्द्र गुप्ता, कोषाध्यक्ष्F चन्द्रशेखर यादव, सचिव मनोज भट्ट, कलैया उपमहानगरका प्रमुख राजेशराय यादव, सिम्रौनगढ नपाका प्रमुख विजयशङ्कर यादवलगायतको सहभागिता थियो।