प्रस, वीरगंज, १५ माघ/
राष्ट्रियसभाकी उपाध्यक्ष शशिकला दाहालले महिला हिंसा न्यूनीकरणका लागि ऐन कानूनको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताएकी छन्।
बिहीवार वीरगंज महानगरपालिकाका जनप्रतिनिधिसँग छलफल गर्दै उनले ऐन, कानून कार्यान्वयनका लागि तीनवटै तहका सरकारबीच समन्वय आवश्यक रहेको बताइन्। छलफलमा स्थानीय तहले महिलाहरूको विषयमा सञ्चालन गरेको कार्यक्रमबारे उपाध्यक्ष दाहालले जानकारी लिएकी थिइन्।
वीरगंज महानगरका प्रमुख विजयकुमार सरावगीले महिला हिंसा अन्त्यको लागि स्थानीय तह प्रतिबद्ध रहेको बताए। उनले महिलाहरूको क्षमता विकास गर्न महानगर केन्द्रित रहेको बताए। नगरप्रमुख सरावगीले महिलाहरूको क्षमता विकास र आर्थिकरूपमा मजबूत बनाउन महिला लक्षित सीपमूलक कार्यक्रम सञ्चालन भइरहेको बताए।
उपप्रमुख शान्ति कार्कीले न्यायिक समितिमा कार्यसम्पादन गर्दा भएका कानून कार्यान्वयनमा प्रदेश र सङ्घ सरकारले सहयोग गर्नुपर्ने बताइन्।
कार्यक्रममा सहभागी महिला सदस्यहरूले महिला हिंसा नरोकिएको र विभिन्न बहानामा छोरीबेटीहरूको हत्या भइरहेको बताए।
छलफलमा प्रमुख प्रशासकीय अधिकृत प्रदीप निरौलालगायतको सहभागिता थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here