भुस्याहा कुकुरले गाउँँशहरमा आतङ्क मच्चाएको छ। घरपालुवा जनावर, बटुवा, विद्यालय जाने बालबालिका तथा सर्वसाधारणलाई समेत त्रसित बनाएको छ। कुकुरले मानिस वा जनावरलाई टोकेमा रेबिजको सङ्क्रमण हुने सम्भावना धेरै हुन्छ। त्यसैगरी, कुकुरको दिसालाई मानव स्वास्थ्यका लागि हानिकारक किटाणुको घर मानिन्छ। परजीवीको लागि कुकुर आश्रयस्थल हो। कुकुरको एक ग्राम दिसामा दुई करोड ३० लाखवटा कोलिफर्म ब्याक्टेरिया रहने अनुसन्धानले देखाएको छ। जसले मानवमा झाडापखाला, आन्द्रामा समस्या, मिर्गौलाको रोग निम्त्याउँछ। यसमा औषधिप्रतिरोधी अनेकौं सूक्ष्म जीवाणुहरू रहन्छन्। हाम्रो मुलुकमा छाडा अर्थात् भुस्याहा कुकुरको सङ्ख्या धेरै छ। शहरी क्षेत्रमा फोहोर प्रशस्त हुने भएकोले गाउँँमा भन्दा यहाँ भुस्याहा कुकुरको सङ्ख्या बढी छ। अहिले भुस्याहा कुकुर नियन्त्रण गाउँँशहर सबैतर्फका लागि चुनौती बनेको छ।
मुलुकको सङ्घीय राजधानी काठमाडौंदेखि मोफसलका शहरहरू वीरगंज, जनकपुर, राजबिराज, कलैयालगायतमा भुस्याहा कुकुरको सङ्ख्या बढ्दो छ। वीरगंज महानगरले केही वर्ष पहिले भुस्याहा कुकुर मार्ने अभियान चलाएको थियो। जनावर अधिकारवादीहरूको विरोधको कारण अभियान बीचैमा रोकियो। त्यसपश्चात् बन्ध्याकरण गरेर भुस्याहा कुकुरको सङ्ख्या नियन्त्रण गर्ने महानगरले घोषणा गरेको थियो। तर त्यो अभियान कता हरायो आजसम्म पनि थाहा हुन सकेको छैन। हुनत कुकुरलाई बन्ध्याकरण गरेर पनि छाडा छाड्ने हो भने समस्या ज्यूँका त्यूँ रहन्छ। केही वर्षपछि सङ्ख्यामा केही कमी आउँला तर अन्यत्रबाट फेरि छाडा कुकुरको आगमन हुन सक्छ। सबैतर्फ एकैपटक बन्ध्याकरण अभियान चलाएर बस्ती वा शहरबाट नै छाडा कुकुर निर्मूल पार्नु ठूलो भूल हुनेछ। कुकुर बेवारिसे छाडा हुँदा मात्रै यी सबै समस्या देखिएका हुन्। यसलाई व्यवस्थित गर्ने हो भने कुकुरबाट फाइदा नै बढी छ।
कुकुर जनावरमध्येमैं वफादार, स्वामीभक्त र चलाख एवं फुर्तिलो प्रणी हो। यो मानवभन्दा पनि इमानदार हुन्छ। गाउँ, टोल, शहरमा फ्याँकेका फोहोरहरूबाट प्राण धानिरहेका भुस्याहा कुकुरहरू दिनरात त्यही ठाउँको पहरेदारी गर्दै आइपरे ज्यान दिन पनि तयार हुन्छन्। कुकुर धेरै भएको क्षेत्रमा अन्यत्रका चोर, डाँका, लफङ्गाहरू हतपती प्रवेश गर्न सक्दैनन्। कुकुरको नामै काफी छ, त्यसैले कुकुर नभए पनि प्रवेशद्वारमा कुकुरदेखि सावधान लेखिएको हुन्छ। घरपालुवा कुकुरहरूमा हाचिको र उसको मालिक प्रोफेसर एजाबुरोको अमरकथा छ। त्यस्तै हालै टर्कीका बोनकुक नामको कुकुर चर्चामा छ। अस्पताल भर्ना भएका मालिकलाई ६ दिनसम्म अस्पतालको ढोकामा कुरेर उनी मालिकसँगै घर फर्किए। यो त कुकुर र मानवबीच सम्बन्धको उदाहरण मात्रै हो। बितेको १८ हजार वर्षभन्दा पहिलेदेखि कुकुर मानवको सहयोगीको रूपमा रहिआएको मानिन्छ। मानव समाज केवल मानवको लागि मात्रै होइन, कुकुरको लागि पनि यही समाज हो भन्ने तथ्य यसले पुष्टि गर्छ। यसर्थ भुस्याहा कुकुरलाई निर्मूल होइन, सामाजिकीकरण गर्नुपर्छ र हरेक घरले आफ्नो नाममा कम्तीमा एउटा कुकुर दर्ता गरेर त्यसको देखभाल गर्ने जिम्मेवारी लिनुपर्ने कानून निर्माण गरौं। किनभने समाज सुरक्षाको जिम्मेवारी हरेक घरपरिवारको पनि हो।