प्रस, निजगढ, १४ माघ/
    बाराको उत्तरी भेगमा रहेको बस्तीमध्ये निजगढ नगरपालिकाको वडा नं १, २ र ३ भरतगंजसिगौल पनि पुरानो बस्ती हो । बस्ती बसेको दशकौ बिते पनि सहजरूपमा सडक सञ्जालमा जोडिन नपाएका यहाँका स्थानीयहरू अहिले सडकको स्तरोन्नति हँुदै कालोपत्रेको कामले तीव्रता पाएपछि खुशी भएका छन् ।
    निजगढ–फापरबारी सडकको निजगढ–भरतगंजसिगौल खण्डमा कालोपत्रेको काम शुरू भएको दुई साता पुगेको छ । निजगढ–भरतगंजसिगौल सडकको ६ किलोमिटर ३५ मिटर लम्बाइको पिच अस्फाल्ट नामक गुणस्तरीय पिच रहेको छ । करीब चार वर्षअघिदेखि शुरू भएको सो सडक योजनाको निर्माण कार्य लामो समयदेखि अवरुद्ध भएर एक वर्षअघिबाट पुनः शुरू भएको हो । वर्षायाममा हिलाम्य र हिउँदमा धुलाम्य भएर हिंड्न बाध्य यहाँका बासिन्दा सडक निर्माणको कामले तीव्रता लिएपछि खुशी भएका छन् ।
    शुरूमा सङ्घीय सरकारको बजेटबाट काम हुने भनिएपछि पछि सो सडक प्रदेश नं २ सरकारले निर्माण गर्ने भन्ने निर्णय भएपछि काम रोकिन पुगेको थियो । प्रदेश सरकारले सडक निर्माणमा चासो नदेखाए पनि पुनः सङ्घीय सरकारले बजेट विनियोजन गरेपछि एक वर्षयताबाट यस सडक निर्माण कार्यले गति लिइरहेको छ । यस सडक महेन्द्र राजमार्गसँग जोडिएसँगै स्थानीयलाई नजीकैका मुख्य बजार निजगढ, जीतपुर, वीरगंज, हेटौंडा, प्रदेश राजधानी जनकपुर, सङ्घीय राजधानी काठमाडौं जान–आउन सहज हुने भएको निजगढ नपा–२ का अध्यक्ष केशव ढोडारीले बताए ।
    अन्य विकास निर्माणका गतिसँगै निजगढ नगरपालिका हँुदै छिमेकी पहाडी जिल्ला मकवानपुरका विभिन्न स्थान जोड्ने सडक सञ्जालको सुरुआती कार्यले विकासको सकारात्मक सन्देश दिएको साथै वर्षौंपछिको प्रयासका बावजूद सडक निर्माण कार्य अन्तिम चरणमा रहेको निजगढ नगरप्रमुख सुरेशकुमार खनालले  बताए ।
    यस क्षेत्रका पूर्वसांसद एवं पूर्व खेलकूदमन्त्री पुरुषोत्तम पौडेलको प्रयासमा यस सडकको स्तरोन्नति हुँदै कालोपत्रे अन्तिम चरणमा पुगेको निजगढ उपप्रमुख लीलादेवी लामिछानेले बताइन् ।
    अघिल्लो वर्ष निजगढस्थित तामागढी रतनपुरी–अमलेखगंज सडकको डमरपुरसम्म स्तरोन्नति भई कालोपत्रे सम्पन्न भइसकेपछि राजमार्गतर्पm जोडिन करीब ३ किलोमिटर कार्य अझै अधूरो छ । सडक निर्माण सम्पन्न हुँनै लाग्दा सडककै कारण निजगढ नपाको रतनपुरी, लाल, डमरपुर, भरतगंजसिगौंलका बस्तीको मुहार फेरिएको स्थानीयहरू बताउँछन् ।
    सडक निर्माण नहँुदा दिनमा तीन/चार पटक अटो आवतजावत हुन्थ्यो । अटोमा टुटफुट पनि बढी आउने तर अहिले सडक निर्माण हुनै लाग्दा दैनिक आठ/दश पटक आवतजावत गर्न सकिने र सामान खासै टुटफुट नभएको रतनपुरीका अटोचालक आकाश रूम्बा र भरतगंजसिगौलका अटोचालक प्रकाश केसीले बताए ।
    सडक निर्माण सम्पन्नसँगै बारा, रौतहट, मकवानपुर, ललितपुरका गरी ३५–४० हजारभन्दा बढी स्थानीय लाभान्वित हुनेछन् भने यस भेगको निजगढ व्यापारी केन्द्रको रूपमा अघि बढ्ने देखिन्छ । सडक निर्माण ठेकेदार कम्पनी पप्पु/रञ्जन जेभीले ९ करोडमा ठेक्का सम्झौता गरी २०७६ चैत मसान्तभित्र निर्माण सम्पन्न गर्ने भनिए पनि विश्वव्यापी कोरोना भाइरससँगै लकडाउनका कारण तोकिएको समयमा काम सम्पन्न हुन सकेको थिएन । सो सडक निर्माण सम्पन्न हुन अझै तीन साता लाग्न सक्ने डिभिजन सडक कार्यालय हेटौंडाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here