प्रस, वीरगंज, १४ माघ/
जीराभवानी गाउँपालिका–४ गदियानी टोलमा मङ्सिर २३ गते २० वर्षीया दलित युवतीसँग भएको दुव्र्यवहारको घटनामा पर्सा प्रहरीले निकै दबाबपछि ढिलो गरी मुद्दा दर्ता गरेको छ।
घरपरिवारका सदस्यहरू नभएको मौका छोपेर स्थानीय २५ वर्षीय युवकले दुव्र्यवहारको प्रयास गरेका थिए।
सो घटना सम्बन्धमा परिवारजनले प्रहरीलाई लगत्तै जानकारी गराए पनि माघ ११ गते निजविरुद्ध मुद्दा दायर भएको हो। पर्साका प्रहरी नायब उपरीक्षक मनोजीत कुँवरले पीडित पक्षले जबरजस्ती करणीको निवेदन ल्याएको र जबरजस्ती करणीको घटना नभएको कारण प्रक्रिया मिलाउने क्रममा ढिला भएको बताए। उनले प्रहरीले कसूर अनुसार निवेदन ल्याउन आग्रह गरेको तर पीडित पक्षले सोअनुरूप नगर्दा ढिला भएको बताए।
प्रहरीले यस्तो जवाफ दिए पनि घटनाको पछाडि राजनीतीकरण भएको स्थानीयहरू बताउँछन्। जबरजस्तीको प्रयास गर्दा युवतीले हल्ला गरेको र उनलाई छिमेकीले उद्धार गरेका थिए। पछि घटना मिलाउन घरपरिवारलाई दबाब दिइएको थियो। गाउँमा पञ्चायती पनि भयो तर त्यसबाट पनि टुङ्गो लागेन। प्रहरीले दुव्र्यवहारको घटना थाहा पाएर पनि दलित युवती भएको कारण राजनीतिक दबाबमा मुद्दा दर्ता गर्न ढिलो गरेको थियो। सकभर समाजबाट मिलाउन प्रहरीले अघोषित दबाब दिएको थियो।
दलित हकहितका लागि सक्रियहरूले दलित युवती भएको कारण घटनामा प्रहरीले चासो नदेखाएको आरोप लगाएका छन्। उनीहरूले गैरदलितबाट दलितमाथि गरिएको घटना साम्य पार्न प्रयास भएको र पीडित पक्ष अडिग भएर बस्दा अन्त्यमा राजनीतिक दबाबमा मुद्दा दर्ता गर्नुपरेको बताएको छ। पीडक पक्षले एउटा राजनीतिक दललाई समातेर मुद्दा दर्ता नगर्न दबाब दिएपछि पीडित पक्ष पनि अर्को राजनीतिक दलसमक्ष पुगेको र घटना सञ्चारमाध्यममा आएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here