अहिले समाज आफ्नो चालमा फर्कन लागेको छ। कोरोनाको एउटा हुण्डरी आयो, तर्सायो। त्यो बितिसकेको छैन, तर हामी अभ्यस्त भइसक्यौं। तन्त्र–मन्त्र, झारफुक, दवा–दारूविना कोरोनामाथि हामीले मानसिक विजय प्राप्त ग–यौं। शारीरिकरूपले विजय प्राप्त गर्न बाँकी छ। अब त आफ्नै देशमा पनि कोरोनाविरुद्ध खोप आइसक्यो। यद्यपि खोप प्राथमिकताको आधारमा दिने भनिएको छ, तर यसले मानसमा ठूलो मात्रामा सकारात्मक प्रभाव पारेको छ। कथम्कदाचित विपत्ति आइलागे प्राथमिकता मिचेर रोगको प्रतिकार गर्न आदेशका लागि सर्वोच्च नै धाउनु पर्नेछैन। अहिले सरकारले कोभिड भ्याक्सिनको लागि प्राथमिकतामा राखेकोबाहेक वर्गमा विद्यार्थीहरूको ठूलो जमात छ। यिनै विद्यार्थीहरूलाई अति संवेदनशील मानेर सरकारले लामो समयसम्म शिक्षाबाट वञ्चित गरायो। अब सबैथरीका विद्यालयहरू खुलिसकेका छन् र अध्ययन–अध्यापनले गति लिइसकेको छ। मेलापात, जुलूस–प्रदर्शनले अवसर छोपेको छ। संयोगले परिस्थिति पनि जुरेको छ। तर यतिले कोभिडको डर हराएको चाहिं होइन। धेरै मानिस उपचारमा छन्, धेरै सङ्क्रमित भइरहेका छन्। मानसिक त्रास भने हराएको छ।
हामी पहिले डराउँछौं अनि सामना गर्छौं। हुनुपर्ने पहिले सामना गर्नु, नसकेपछि र प्रतिकूल परिणाम आएपछि डराउनु। तर प्रतिकूलताका लागि पूर्व तयारी भने राख्नुपर्छ। पूर्व तयारी त हामी कुनैपनि कामका लागि गर्दैनौं। आगो लागेपछि कुवाँ खन्ने जोहो गर्छौं, जाडो आएपछि न्यानो कपडा किन्न पेंचिलो कार्यविधि अँगाल्छौं, भारतले नाकाबन्दी गरेपछि चीनसित इन्धन किन्न दौडधूप गर्छौं, बाढी–पहिरो आएपछि  राहत सामग्री जुटाउन थाल्छौं, निकम्मा शासक छानेर आन्दोलन गर्न थाल्छौं। देशमा निर्यात गर्न सकिनेगरी विद्युत् उत्पादन गर्ने कसम खान्छौं, तर विदेशसँग नकिनी घरायसी बिजुलीको आवश्यकता धान्न सक्दैनौं। यो खोला तरेपछि लौरो बिर्सने प्रवृत्ति हो। यो हाम्रो नछुट्ने बानी भइसकेको छ। सामूहिक विषयमा मात्र होइन, व्यक्तिगत तवरमा पनि र राजनेताहरूमा पनि सामना गर्नुको साटो समस्याबाट पलायनको बाटो नै प्राथमिकतामा पर्ने गरेको छ। प्रधानमन्त्रीमाथि अविश्वासको प्रस्ताव आउने सुरसार भयो, उनले संसद्मा बहुमत साबित गर्न आँट गर्न सकेनन्, पलायन हुने बाटो अख्तियार गरे।
अहिले पनि प्राथमिकताको कुरालाई थाति राखी पछि गर्न सकिने काममा सबैको ध्यान केन्द्रित भएको छ। प्राथमिक आवश्यकता हो, कोभिडविरुद्ध सम्पूर्ण नागरिकलाई सुरक्ष्Fित पार्नु। किनकि यसमा ढिलाइ भयो भने दिन प्रतिदिन मानिस कालको मुखमा गइरहेको छ। राज्य र शासनको कुरा त भोलि पनि गर्न सकिन्छ। दुई दिन बढी कोही सत्तामा बस्दैमा ऊ इतिहासमा सफल कहलिने होइन, कोही दुई दिन सत्ता बाहिर रहँदा इतिहासले गाली गर्ने होइन, अपितु सङ्कटकालमा स्वार्थ त्यागेको भनेर सुनाम नै लेखिन्छ। दायित्वबाट पन्छिने उत्तम उपाय हो आफूलाई जानीजानी कुनै अल्छोमा पार्नु। अहिले नेपालका राजनीतिक दलहरू त्यहीं गरिरहेका छन्। देशसामु विकराल समस्या छ–बेरोजगारी, कोभिड महामारी, खस्कँदो अर्थव्यवस्था, उत्पादनमा –हास, लकडाउनजन्य अकर्मण्यता, शिक्षा, स्वास्थ्य, सङ्घीयता संस्थागत गर्नु, प्रतिगमनलाई रोक्नु। तर यी महती आवश्यकता अहिले न राज्य, न राजनीतिक दलहरूको कार्यसूचीमा नै। यी सबैको सामना हटेर होइन, डटेर मात्र गर्न सकिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here