प्रस, पोखरिया, ११ माघ/
पर्साका विभिन्न स्थानबाट भारतको त्रिवेणी जाने काँवरिया टोलीहरू यस वर्ष रोकिएका छन्।
कोरोना भाइरसको कारण यसपटक काँवरियाहरू अरेराज गएका छैनन्। गत वर्ष पुसको १५ गते काँवरियाहरू भारतको त्रिवेणी गएका थिए।
यसपटक पनि यही बेला जाने तय थियो तर कोरोनाको कारण काँवरियाहरू गएनन्। उनीहरू त्रिवेणीमा जल भरेर भारतको अरेराज र पर्सा जिल्लाको रामभौरीभाठास्थित दुग्धेश्वर महादेव मन्दिरमा जल चढाउने गर्दथे। एक महीनासम्मको यात्राका लागि पुसको दोस्रो सातादेखि उनीहरू गाउँबाट निस्कने गर्दथे।
सयौंको सङ्ख्यामा निस्कने काँवरियाहरू पर्सा जिल्लामा थुप्रै हुन्थे। यसपटक एकजना पनि काँवरिया त्रिवेणी गएका छैनन्।
जल भरेर श्रीपञ्चमी, सरस्वती पूजाको दिन उनीहरूले अरेराज र दुग्धेश्वर महादेव मन्दिरमा जल चढाउँथे। वसन्तपुर काफ्लाका मुखिया वीरेन्द्र गिरीले भाकल अनुसार काँवरियामा जानुपर्ने बताए। उनले कोरोनाको कारण यसपटक एक महीने अभियान स्थगित भएको तर भाकल पूरा गरिने बताए। उनले भाकल पूरा भएका मानिसहरू काफ्लामा काँवर लिएर जानुपर्ने नियमलाई तोड्न नसक्ने हुँदा यसपटक १० दिनअगावै त्रिवेणी र वाग्मतीमा जल भर्न जाने र पटेर्वासुगौली गापामा रहेको रामभौरीभाठास्थित दुग्धेश्वर महादेव मन्दिरमा जल चढाउने कार्यक्रम रहेको बताए। यसअघि परम्परागतरूपमा एक महीनाअगाडि काफ्ला लिएर काँवरियाहरू हिंड्ने गर्थे।
एक महीने अभियानमा उनीहरू विभिन्न धाम गर्ने र त्रिवेणीबाट जल बोकेर अरेराज तथा दुग्धेश्वर महादेवमा जल चढाउने गर्दथे।
यसपटक दुग्धेश्वर महादेवमा मात्र पर्सा जिल्लाका काँवरियाले जल चढाउने कार्यक्रम रहेको काफ्लाका मुखिया गिरीले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here