प्रस, रौतहट, ९ माघ/
नेपाल पत्रकार महासङ्घ रौतहट शाखाको ११औं साधारणसभा शुक्रवार जिल्ला समन्वय समिति रौतहटको सभाहलमा सम्पन्न भएको छ।
साधारणसभाको उद्घाटन नेपाल पत्रकार महासङ्घका केन्द्रीय महासचिव रमेश विष्टले गर्दै विभिन्न कालखण्डमा पत्रकारितामाथि लाग्ने अङ्कुशलाई महासङ्घको अगुवाइमा तोडिएको बताए।
पत्रकारितालाई मर्यादित बनाउन महासङ्घले आचारसंहिता लागू गर्दै आएको अवस्थामा सञ्चारकर्मीहरूले आचारसंहिता उल्लङ्घन गर्दा विभिन्न चुनौतीको सामना गर्नुपरेको महासचिव विष्टले बताए। आगामी रौतहट शाखाको अधिवेशनमा सक्षम नेतृत्वको चयन गर्न सुझाव दिंदै विगतका कमीकमजोरीलाई हटाउँदै एक जुट हुन उनले सुझाए।
सो अवसरमा महासङ्घका केन्द्रीय सचिव शीतल महतोले महासङ्घ पत्रकारको हकहितको लागि लड्दै आएको बताए। उनले पत्रकारहरूलाई सङ्ख्यात्मकको साटो गुणात्मक बनाउन आग्रह गरे।
कार्यक्रममा महासङ्घका प्रदेश नं २ अध्यक्ष दीपेन्द्र चौहानले राजाको शासनमा सञ्चारकर्मीलाई दण्ड सजाय दिने व्यवस्था कायम गरेको सरह नै वर्तमान सरकारले सञ्चारकर्मीलाई जरिवाना र कैदको व्यवस्था ल्याउने प्रयास गरेकोमा दुःख व्यक्त गरे।
नेपाल पत्रकार महासङ्घ रौतहट शाखाका अध्यक्ष रवीन्द्र साहको अध्यक्षतामा भएको कार्यक्रममा महासङ्घका केन्द्रीय सदस्य गोविन्द चौलागाईं, गौर नगरपालिकाका प्रमुख अजयकुमार गुप्ता, दुर्गाभगवती गाउँपालिकाका अध्यक्ष अरुण साह, देवाहीगोनाही नगरपालिकाका प्रमुख धर्मेन्द्र पटेल, वृन्दावन नगरपालिकाका प्रमुख रामस्नेही यादव, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, महासङ्घ प्रदेश नं २ का सदस्य शैलेन्द्र झा, विजेन्द्र पासवान, प्रेस युनियनका सञ्जय कार्की, प्रेस सङ्गठनका फणि महत, महिला पत्रकार प्रभा सिंह, बिना राउत, पत्रकार विनयलाल दास, रौतहट शाखाका संस्थापक अध्यक्ष शिव पुरीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा रौतहट शाखामा आबद्ध रही २० वर्ष पत्रकारिता गरेका पत्रकारहरू शैलेन्द्र झा, श्रीमन्नारायण मिश्र, शैलेन्द्र गुप्ता, प्रभात झा, रवीन्द्र साह, शिव पुरी, रत्न अधिकारी, गोपाल आचार्य, प्रेमचन्द्र झा, रमेश सिंह, रवीन्द्र मण्डल, आनन्द खनाल, विनयकुमारलाल दासलगायतलाई महासङ्घका महासचिव विष्टले सम्मानपत्र र दोसल्लाले सम्मान गरेका थिए।
कार्यक्रममा गौर नगरपालिकाका प्रमुख अजयकुमार गुप्ता, दुर्गाभगवती गाउँपालिकाका अध्यक्ष अरुण साह, देवाहीगोनाही नगरपालिकाका प्रमुख धर्मेन्द्र पटेल, वृन्दावन नगरपालिकाका प्रमुख रामस्नेही यादव, प्रजिअ इन्द्रदेव यादव, प्रहरी उपरीक्षक सिद्धिविक्रम शाह, राष्ट्रिय अनुसन्धान विभागका प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी नायब उपरीक्षकलगायतलाई मायाको चिनो प्रदान गरिएको थियो।