मुकुन्द आचार्य
जुलूस, आन्दोलन, नारा, बन्द, आमसभा, प्रचारप्रसार, विपक्षीको सारा जन्मकुण्डली हेरेर उसको कमीकमजोरीको व्यापक प्रचार, एकअर्कामाथि दोषारोपण (दोष भएपनि न भएपनि) जुलूसमा शक्ति प्रदर्शन, सानो कुरालाई बढाएर ठूलो पार्ने, सानो असमझदारीलाई ठूलै झगडाको रूपमा परिणत गर्ने जस्ता घटना, दुर्घटना, अन्तिममा कुटाकुट, पछि–पछि आफ्ना प्रतिद्वन्द्वी, विपक्षीको रहस्यमय मृत्यु आदि इत्यादि सम्पूर्ण चर्तिकला मिसाएर यौटा ‘राजनीति’ शब्द बन्छ।
‘जुलूस’ हटाइदियो भने राजनीति लङ्गडो हुन्छ। कसैको समर्थन गर्नुपरे पनि भव्य जुलूस, कसैको विरोध गर्नुपर्दा पनि जुलूस नभई नहुने, जन्मदा पनि न्वारन गराउने बाहुन बाजे चाहिने, मरे पनि श्राद्ध गराउन बाहुनै हुनुपर्ने जस्तै हो यो मेलोमेसो पनि।
बेला–कुबेला जुलूस नारा आदि भइरह्यो भने देशमा प्रजातन्त्र, लोकतन्त्र, ठोकतन्त्र सबै तन्त्र–मन्त्र सक्रिय छ भने जस्तो लाग्छ। यो हाम्रFे देश नेपाल भनाउँदो बाँचेको छ। त्यति मात्र कहाँ हो र नारा, जुलूसको समाचार सुन्दा मात्र पनि नेपालीहरू ऊर्जावान् छन् भन्ठानेर मन फुरुङ हुन्छ।
हाम्रो यो आर्यावर्तीय भूभागमा ६ थरीका ऋतु सक्रिय हुने मानिन्छ। जस्तैः वसन्त, गृष्म, वर्षा, शरद, हेमन्त र शिशिर। यसमा जुलूसे मौसम पनि यौटा थप्नुपर्ला जस्तो मलाई लाग्छ।
यसबारेमा अलि पाको राजनीतिको खेलाडीसँग छलफल गर्नुप–यो भन्ठानेर एकजना भूपू नेतालाई नमस्कार ठोकेर जुलूस मौसमको राग गाएर सुनाएँ।
मैले अलिकति झूटो प्रशंसा पनि फयाँकेर फुक्र्याइदिएँ। ती अनुभवी नेताले एक छिन त माक्र्सजस्तो अनुहार बनाए अनि तुरुन्तै अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पजस्तो आकृति बनाएर मलाई सम्झाए– अचेल कुनै चीजको लागि पनि मौसम पर्खिनुपर्दैन। जुलूस जुन मौसममा पनि उत्तिकै रमाइलो, घमाइलो र कमाइलो (कमाइ हुने) हुने गर्छ। पार्टीका बच्चा नेताहरूले कमाउने खाने मौका पाउँछन्। पार्टीको साधारण सदस्य हुनासाथ यस्ता जुलूस, नारा, बन्द, तोडफोड, कुटपिट, झैंझगडा आदिमा सहभागी भएर राजनीति गर्न सिक्नुपर्छ। अनिमात्र पछि गएर देशको ठूलो नेता बनेर देश लुट्ने काम कुशलतापूर्वक गर्न सक्छन्। यसैगरी प्रजातन्त्र फल्छ फुल्छ। त्यसैले जुलूस देखेर तर्सिनुहुँदैन। जुनसुकै मौसममा पनि जुलूसबाजी, नाराबाजी गर्न मिल्छ। विज्ञानले अब निकै विकास गरिसकेको छ।
उनले थपे– कुकुर–कुकुर्नीहरूको प्रणय अचेल बा–है महीना चल्छ। जुनसुकै मौसममा जुनसुकै तरकारी पाइन्छ। मान्छेको बिहेवारी गर्नलाई अब लगन, पुरेत, मन्त्र, ठूलाबडाको आशीर्वाद क्यै चाहिन्न। हुँदाहुँदा केटा र केटी बिहे नगरी सँगै पति–पत्नी बनेर बस्न थालेका छन्। त्यसो हुनाले जुनसुकै बेला जे गर्दा नि हुन्छ।
अब घोरिने पालो मेरो थियो। हेर्दा लाटो जस्तो देखिए पनि मान्छे त खप्पीस जस्ता लागे।
तैपनि मैले हार मानिनँ। पुनः प्रश्न गरें, पहिले साउन–भदौमा मकै पोलेर खाँदा कति हो कति मीठो लाग्थ्यो। अचेल त मकै पनि बा–है महीना पाइन्छ, खाइन्छ। तर त्यो स्वाद न ब्यादको हुन्छ। हाम्रो देशको राजनीतिमा पनि सरकार घरीघरी फेरिरहने रमाइलो नाटक चलिरहन्छ। यो नाटक सफल पार्न नारा, जुलूस, विरोधसभा, कोणसभा, गालीगलौज, कुटाकुट, आक्रमण, प्रत्याक्रमण निरन्तर चलिरहने प्रक्रिया हुन्। यसका लागि पात्रो हेरिरहनुपर्दैन। तिथि, लग्न, वार क्यै हेर्नुपर्दैन।
झूटो आरोप–प्रत्यारोप लाएर तथानाम गाली बेइज्जती गर्नलाई पनि साइत हेरिरहनुपर्छ र ? आफ्नो प्रतिपक्षीलाई देख्यो कि क्ष्Fेप्यास्त्र चलाइहाल्नुपर्छ। मौसम विभागले त मौसमको सही अनुमान गर्न सक्दैन भने क्षुद्र राजनीति गर्नलाई शुद्ध मौसम किन चाहियो ?
आज ओलीको कुर्सी खोसेर आफू त्यसमा ढसमस्स भएर बस्न खोज्नेहरूले पनि धेरैपटक शासन सत्ता पाए, खेलाए, जनतालाई रुवाए। अहिले म राम्रो, मेरो पार्टी राम्रो, मेरो शासन राम्रो, मैले लुटेको राम्रो, मैले जनतालाई भुटेको राम्रो भन्दै अलाप–विलाप–प्रलाप गर्दैछन्। जनता भेंडो, नेता टेंढो !