उमाशङ्कर द्विवेदी
यस प्रकार राजा ययातिले धैर्यको साथ कामनाहरूको त्याग गरेर आफ्नो पुत्रलाई राज्यसिंहासनमाथि बसालेर आफू वनमा गए। उनी पनि तिमी र तिम्रा छोराभन्दा श्रेष्ठ थिए। उनीहरू मरेपछि पनि तिमीले आफ्नो पुत्रको शोक गर्नु असल होइन, गर्नुहँुदैन।
सुनिन्छ, नाभागका पुत्र राजा अम्बरीष पनि मृत्युलाई प्राप्त भएका थिए। उनी एक्लैले दश लाख योद्धासित युद्ध गरेका थिए। एक समयको कुरा हो, राजाका शत्रुहरूले उनलाई युद्धमा जित्ने इच्छाले आएर चारैतिरबाट घेरामा हालेका थिए। ती जम्मै अस्त्रयुद्धका ज्ञाता थिए र राजाप्रति अशुभ वचन प्रयोग गर्दथे। अनि राजा अम्बरीषले आफ्नो अस्त्रबल, हस्तलाघव र युद्धसम्बन्धी शिक्षाद्वारा शत्रुहरूका छत्र, ध्वजा, आयुध र रथको टुक्रा–टुक्रा पारिदिएका थिए। अनि त उनीहरू आफ्नो प्राण बचाउनको लागि प्रार्थना गर्न थाले– “हामीहरू तपाईंको शरणमा छौं,’ भन्दै उनको शरणागत हुन पुगे। यस प्रकार उनले शत्रुहरूलाई वशीभूत गरेर सम्पूर्ण विश्वमाथि विजय प्राप्त गरेर शास्त्रविधि अनुसार एक सय यज्ञको अनुष्ठान गरे। ती यज्ञहरूमा श्रेष्ठ ब्राह्मण तथा अन्य मानिसहरू पनि सबै प्रकारले उत्तम अन्न भोजन गरेर अत्यन्त तृप्त भएका थिए तथा राजाले पनि सबैको धेरै सत्कार गरेका थिए। साथै उनले धेरै सामग्री दानमा पनि दिएका थिए। अनेकौं मूर्धाभिषिक्त राजाहरू र सयकडौं राजकुमारलाई दण्ड तथा कोषसहित उनले ब्राह्मणहरूको अधीन गरिदिएका थिए। महर्षिहरूले उनीमाथि प्रसन्न भएर भनेका थिए– “असङ्ख्य दक्षिणा दिने राजा जस्तो यज्ञ गर्दछन्, त्यस्तो यज्ञ न पहिले कसैले गरेको थियो, न अब भविष्यमा कोही गर्नेछ।” सृञ्जय, उनी पनि तिमी र तिम्रा छोराभन्दा श्रेष्ठ थिए। उनीहरू पनि मरेर गएपछि तिमीले आफ्नो पुत्रको शोक गर्नु असल होइन, गर्नुहुँदैन।
सुनिन्छ, जसले नाना प्रकारका यज्ञ गरेका थिए, ती शशबिन्दु राजा पनि मरेका थिए। उनकी एक हजार स्वास्नी थिए र प्रत्येक स्त्रीको कोखबाट एक एक हजार सन्तान उत्पन्न भएका थिए। उनीबाट जन्मेका प्रत्येक राजकुमार पराक्रमी, वेदको विद्वान् र उत्तम धनुष धारण गर्ने प्रकारका थिए। सबैले अश्वमेध यज्ञ गरेका थिए। राजा शशबिन्दुले आफ्ना ती जम्मै राजकुमारलाई यज्ञमा ब्राह्मणहरूलाई दानमा दिएका थिए। प्रत्येक राजकुमारपिच्छे एक/एक सय सुवर्णभूषित कुमारी कन्या थिए, एक/एक कन्यापिच्छे एक/एक सयवटा हात्ती, हात्तीपिच्छे एक/एक सयवटा रथ, रथपिच्छे एक/एक सयवटा घोडा, घोडापिच्छे एक/एक हजार गाई तथा गाईपिच्छे पचास/पचासवटा भेडा थिए। यस्तो अपार धन राजा शशबिन्दुले आफ्नो यज्ञमा ब्राह्मणहरूलाई दानमा दिएका थिए। त्यस यज्ञमा कोसौंसम्म विशाल अन्नको भण्डार लागेको थियो। राजाको यज्ञ समाप्तिपछि अन्नका ते–हवटा राश उब्रेको थियो। उनको राज्यकालमा यस पृथ्वीमाथि ह्ष्टपुष्ट मानिसहरू रहन्थे, यहाँ कुनै पनि प्रकारको विघ्न–बाधा थिएन, कुनै रोग थिएन। धेरै समयसम्म राज्यको उपभोग गरेर उनी दिव्यलोक प्रस्थान गरे। उनी पनि तिमी र तिम्रा छोराभन्दा श्रेष्ठ थिए। उनीहरू मरेपछि पनि तिमीले आफ्नो पुत्रको शोक गर्नु असल होइन, गर्नुहँुदैन।
राजा अमूर्तरयका पुत्र गयको पनि मृत्युको कुरा सुनिन्छ। उनलै एक सय वर्षसम्म अग्निहोत्र गरेका थिए र प्रतिदिन होमावशिष्ट अन्न मात्रको भोजन गर्दथिए। यसबाट अग्निदेवले प्रसन्न भएर वर माग्नलाई भने। अनि गयले यस्तो वरदान मागे– “म तप, ब्रह्मचर्य, व्रत, नियम र गुरुजनहरूको कृपाबाट वेदको ज्ञान प्राप्त गर्न चाहन्छु। अर्कालाई कष्ट नपु–याईकन नै आफ्नो धर्म अनुसार रहेर अक्षय धन प्राप्त गर्न चाहन्छु। प्रतिदिन म ब्राह्मणहरूलाई दान दिन पाउँ तथा यस काममा मेरो अधिकाधिक श्रद्धा बढोस्। आफ्नो वर्णकी कन्यासित मेरो विवाह होस्, पत्नी पतिव्रता रहून् तथा उनकै गर्भबाट मेरो पुत्र उत्पन्न होओस्। अन्नदानमा मेरो श्रद्धा बढोस् तथा धर्ममा मेरो मन रमिरहोस्। मेरो धर्म कार्यमा कहिले पनि कुनै किसिमको विघ्न न आओस्।” ‘यस्तै होस्, तथास्तु’ भनेर अग्निदेव अन्तर्धान भए। राजा गयलाई उनको जम्मै अभीष्ट प्राप्त भयो र उनले धर्मबाट नै शत्रुहरूमाथि विजय प्राप्त गरे। एक सय वर्षसम्म बडो श्रद्धापूर्वक उनले दर्श, पौर्णमास, आग्रयण तथा चातुर्मास्य आदि नानाथरीका यज्ञ गरे तथा ती यज्ञहरूमा प्रचुर दक्षिणा दिए। उनी प्रतिदिन प्रातःकाल एक लाख साठी हजार गाई, दश हजार घोडा तथा एक लाख सुनको असर्फी दान गर्दथे। उनले अश्वमेध यज्ञमा मणिमय बालुवावाला सुनको पृथ्वी बनाएर ब्राह्मणहरूलाई दान दिएका थिए। समुद्र, नदी, नद, वन, द्वीप, नगर, राष्ट्र, आकाश तथा स्वर्गमा जुन नानाथरीका प्राणीहरू रहन्थे, ती जम्मै यज्ञको सम्पत्तिबाट तृप्त भएर भन्दथे– राजा गयको समान अरू कसैको पनि यज्ञ भएन। उनले छत्तीस योजन लामो र तीस योजन चौडाइको चौबीसवटा सुवर्णमयी वेदी बनाएका थिए। वेदीहरू पूर्वदेखि पश्चिमको क्रममा बनाइएको थियो। वेदीहरूमाथि मौती र हीराहरू ओछ्याइएको थियो। ती जम्मै वस्त्र र आभूषणको साथ ब्राह्मणहरूलाई दान दिइएको थियो। क्रमशः…