प्रस, ठोरी, ८ माघ/
लामो समयदेखि शिक्षक दरबन्दी नभएर समस्या भोगिरहेका ठोरी गाउँपालिकाका सामुदायिक विद्यालयहरूमा गापाले स्वयंसेवक शिक्षक खटाएको छ।
गापाभित्र रहेका पाँचवटा आधारभूत र एक प्रस्तावित माविमा गणित, विज्ञान र अङ्ग्रेजी विषय पढाउने शिक्षकको दरबन्दी नभएको भन्दै पालिकाले स्वयंसेवक शिक्षक नियुक्त गर्दै दरबन्दी नभएका विद्यालयमा खटाएको हो।
पालिकाभित्र एक दशकभन्दा लामो समयदेखि कक्षा ६, ७ र ८ सञ्चालन भएका पाँचवटा आधारभूत विद्यालय छन्। कक्षा ५ सम्म सञ्चालित ती पाँचवटै विद्यालयले एक दशकभन्दा लामो समयदेखि कक्षा ६ देखि ८ सम्म थप गरेर कक्षा सञ्चालन गरेका भएपनि आधारभूत तहको शिक्षक दरबन्दी नै नरहेको ठोरी गापाका शिक्षा संयोजक भुपालकुमार जोशीले बताए। यस्तै गत वर्षदेखि माध्यमिक तह सञ्चालन गरेको ज्ञानज्योति माविमा पनि माध्यमिक तहको शिक्षकको दरबन्दी नै छैन। सबै विद्यालयले प्रावि तहका शिक्षक, निजी स्रोत र बालविकास सहयोगी कार्यकर्ताको भरमा आधारभूत र माध्यमिक कक्षा सञ्चालन गर्दै आइरहेका थिए।
शिक्षक अभावका कारण पठनपाठनमा नै समस्या पर्न थालेकोले गाउँ कार्यपालिकाको बैठकबाट नै निर्णय गराएर स्वयंसेवक शिक्षक पठाइएको शिक्षा संयोजक जोशीले जानकारी दिए। दरबन्दी नभएका प्रत्येक आधारभूत र माविमा विद्यालयमा अङ्ग्रेजी, विज्ञान र गणित विषयका २/२ जना तथा नेरामावि ओडारमा एकजना गरेर १३ जना शिक्षक पठाउने निर्णय भएको र सोही निर्णयबमोजिम पालिका कार्यालयले स्वयंसेवक शिक्षक पदमा खुल्ला प्रतिस्पर्धामार्फत शिक्षक छनोट गरेको संयोजक जोशीले बताए। स्वयंसेवक शिक्षक पदमा नियुक्त भएका कतिपय शिक्षक बुधवारदेखि र कतिपय बिहीवारदेखि विद्यालयमा हाजिर भएका छन्।
एघार वर्षअघि कक्षा ६ सञ्चालन गर्न शुरू गरेको भएपनि बुधवार निमावि तहको स्वयंसेवक अङ्ग्रेजी शिक्षक पालिकाले पठाएको ठोरी–३ मा रहेको ब्रह्मपुरी आधारभूत विद्यालयका प्रधानाध्यापक सूर्यबहादुर खड्काले जानकारी दिए। उता माध्यमिक तहको शिक्षक दरबन्दी नभएको ज्ञानज्योति माविमा पनि बुधवार नै स्वयंसेवक शिक्षक हाजिर भएको प्रधानाध्यापक पिताचन्द्र ढुङ्गेलले जानकारी दिए।
ठोरीमा ६ वटा मावि, ५ वटा आधारभूत गरी २१ वटा सामुदायिक विद्यालय सञ्चालनमा छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here