प्रस, वीरगंज, ७ माघ/
मुलुककै प्रमुख भन्सार नाका वीरगंजबाट पछिल्लो ६ महीनाको अवधिमा १९ अर्ब ५३ करोड ९० लाख ९७ हजार मूल्य बराबरको मालसामान निकासी भएको छ। चालू आव २०७७–७८ को साउनदेखि पुस मसान्तसम्म यो मूल्य बराबरको मालसामान निर्यात भएको हो।
यो अघिल्लो आव २०७६–०७७ भन्दा ६.१० प्रतिशतले बढी हो। आव २०७६–०७७ मा १८ अर्ब ४१ करोड ५१ लाख ८९ हजार मूल्य बराबरको मालसामान भारत तथा तेस्रो मुलुकमा निर्यात भएको वीरगंज भन्सारका प्रमुख भन्सार प्रशासक महेश आचार्यले जानकारी गराए।
चालू आवको पहिलो ६ महीनामा वीरगंज नाकाबाट सबैभन्दा बढी भटमासको तेल भारततर्फ निर्यात भएको वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक आचार्यले बताए। कोरोना महामारीका कारण चालू आर्थिक वर्षको झन्डै ४ महीना वीरगंज नाकाबाट भारततर्फ हुने निकासी प्रभावित भए तापनि निकासीमा सकारात्क वृद्धि देखिएको उनले बताए।
चालू आवको प्रथम ६ महीनामा वीरगंज नाकाबाट मात्रै ११ अर्ब ५५ करोड ८१ लाख ३३ हजार मूल्य बराबरको ७ करोड ८३ लाख ४१ हजार ७ सय २९ किलो भटमासको तेल भारत निकासी भएको छ। वीरगंज नाका भएर बारा, पर्सा औद्योगिक करिडरका  १४ ओटा उद्योगले भटमासको तेल निकासी गर्दै आएका छन्। गत आव २०७६–७७ को साउनदेखि पुससम्मको तुलनामा चालू वर्ष निकासी भएको भटमासको तेल मूल्यका आधारमा ३ सय २ प्रतिशतले वृद्धि भएको वीरगंज भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ। पाम आयल निकासी रोकिएपछि स्वदेशी तेल उत्पादकहरू भटमास तेल निर्यातमा केन्द्रित भएको वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक आचार्यले स्पष्ट पारे।
त्यसैगरी वीरगंज नाकाबाट डाबर नेपालद्वारा उत्पादित जुस, दन्तमञ्जन, च्यवनप्राशसहित कपडा, सेन्थेटिक यार्न, स्पोटर््स शूज, उनी गलैंचा, कार्पेट र पिना पनि भारत निकासी हुने मुख्य वस्तु हो। डाबरको जुस जाम १ अर्ब ६४ करोड ८४ लाख ६० हजार मूल्य बराबरको भारत निर्यात भएको छ भने च्यवनप्राश, त्रिफला, बत्तिसा ६६ करोड २० लाख १५ हजार मूल्य बराबरको निर्यात भएको छ।
डाबर दन्तमञ्जन मात्रै ५५ करोड ३० लाख २३ हजारको निर्यात भएको छ भने जमोठ कपडा ६६ करोड ६५ लाख ९५ हजार मूल्य बराबरको निर्यात भएको छ।
यता सेन्थेटिक यार्न ५० करोड २ लाख ६२ हजार मूल्यको निर्यात भएको छ भने स्पोटर््स शूज नेपालबाट ४८ करोड ४६ लाख ८२ हजार मूल्य बराबरको निर्यात भएको वीरगंज भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ।
त्यसैगरी आयुर्वेदिक औषधि, स्टीलका भाँडाकुँडा, कागजका बाकस, सीआर सीटलगायत वस्तु ठूलो परिणाममा भारततर्फ निर्यात हुने गरेको वीरगंज भन्सारले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here