प्रस, वीरगंज, ६ माघ/
वीरगंज महानगरपालिकाले घण्टाघरदेखि पावरहाउससम्म निर्माण गर्न लागेको फोरलेन सडक अन्तर्गत पश्चिमतर्फको सडक टिकाउ नहुने प्राविधिकहरूले बताएका छन्।
महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले सडक विभागको मापदण्ड अनुसार सडक निर्माण हुने बताएका थिए। रु दुई करोड तीन लाखको लागतमा १.८ किलोमिटर सडक कालोपत्र गर्ने ठेक्का सिद्धबाबा/समा जेभी कन्स्ट्रक्शनले लिएको छ। माघ २ गतेदेखि ४५ दिन अवधिमा निर्माण सम्पन्न गर्नेगरी काम शुरू भएको छ। तर नगरप्रमुख सरावगीले बताए अनुसार सडक विभागको मापदण्ड अनुसार सडक निर्माण नभइरहेको प्राविधिकहरूले बताएका छन्।
सडक निर्माणको लागि अहिले पावरहाउसदेखि घण्टाघरसम्म फोरलेन सडकको पश्चिमतर्फ महानगरमा पर्ने सडकखण्डको कालोपत्र उप्काउने कार्य जारी छ।
कालोपत्र उप्काएपछि ठेकेदार कम्पनीले सोही ग्रेभललाई सम्याउने  गर्दै आएको छ। जबकि पुरानो ग्रेभल हटाएर नयाँ ग्रेभल भरेर सम्याउनुपर्ने प्राविधिकहरू बताउँछन्। सो सडक निर्माण कार्य झारा टार्नेबाहेक केही नभएको प्राविधिकहरूको भनाइ छ।
वीरगंज महानगरको योजना शाखाका प्रमुख इन्जिनीयर राकेश साहले पुरानो कालोपत्र हटाएर चार इन्च नयाँ ग्रेभलले सबगे्रडिङ गरी कालोपत्र गरिने बताए। उनले अहिले पुरानो ग्रेभललाई सम्याउने काम भएको र त्यसमा नयाँ मिश्रण थपेर रोलिङ गर्न बाँकी रहेको बताए।
योजना प्रमुख साहले सडक विभागको मापदण्ड अनुसार पुरानो ग्रेभर सबै हटाएर नयाँ ग्रेभलबाट सबग्रेडिङ गर्दा लागत खर्च डेढ करोड रुपैयाँ बढ्न जाने हुँदा तत्काललाई चार इन्चसम्म मात्र नयाँ गे्रभल गरी ग्रेडिङ गरिने बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here