प्रस, सेढवा ५ माघ/
पटेर्वासुगौली गाउँँपालिका–५ निचुटाको खेलमैदानमा माघ १७ गतेदेखि प्रथम पटेर्वासुगौली फूटबल गोल्डकप–२०७७ आयोजना हुँदैछ। गाउँपालिकाको सहयोगमा समता समाज नेपाल पटेर्वासुगौली गापा–५ निचुटाले फूटबल गोल्डकप आयोजना गर्ने सोमवार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ।
प्रतियोगितामा १२ वटा टीमको सहभागिता रहने संस्थाका सदस्य काजी चौधरीले बताए। प्रतियोगितामा पर्साका ६, चितवनका २, बारा, रौतहट, सर्लाही र महोत्तरीका १/१ वटा टीमको सहभागिता हुने उनले बताए।
गोल्डकपको विजेता टीमलाई नगद रु २ लाख, उपविजेतालाई रु १ सहित ट्रफी, मेडल र प्रमाणपत्रबाट पुरस्कृत गर्ने आयोजक संस्थाका अध्यक्ष मधुकान्त चौधरीले बताए।
प्रत्येक दिनको खेलमा मैन अफ दी म्याच हुने खेलाडीलाई नगद रु दुर्ई हजार, बेस्ट गोलकीपरलाई नगद रु पाँच हजार, बेस्ट डिफेन्डर, बेस्ट मिडफिल्डर, सर्वाधिक गोल गर्ने खेलाडी र बेस्ट कोचलाई जनही रु पाँच हजार, खेलको मैन अफ दी सिरिज खेलाडीलाई नगद रु १० हजारबाट पुरस्कृत गरिने आयोजक टीमले जनाएको छ।
पत्रकार सम्मेलनमा गोल्डकपको अनुमानित बजेट रु २० लाख रहेको अध्यक्ष चौधरीले बताए।
गाउँका युवाहरू कुलतमा फस्दै गएपछि युवाहरूलाई खेलप्रति आकर्षित गर्न आयोजना गरिएको प्रतियोगितामा गाउँपालिकाले पूर्णरूपले लगानी गरेको गापा अध्यक्ष हरिनारायण चौधरीले बताए। उनले खेलको माध्यमबाट गाउँ, समाज तथा देशको नाम उच्च राख्न सकिने बताए। खेलकूदले स्वस्थ र तन्दुरुस्त राख्ने भएकोले जस्तोसुकै खेलकूद प्रतियोगितामा गापा सहयोग गर्न तयार रहेको अध्यक्ष चौधरीले बताए।
प्रतियोगितामा सहभागी टीमले बढीमा तीनजना अन्तर्राष्ट्रिय खेलाडीलाई खेलाउन सकिने नीति पनि बनाएको छ।