प्रस, परवानीपुर, ५ माघ/
माघ २ गतेदेखि काठमाडौंमा शुरू भएको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको लागि प्रदेश २ को क्रिकेट टोली सोमवार काठमाडौं प्रस्थान गरेको छ।
बारा, कलैया उपमहानगरपालिकाका प्रमुख राजेशराय यादवले गम्छा र फूलमाला लगाइ खेलाडीहरूलाई बिदाइ गरेका थिए। उनले टीमका प्लेइङ १४ जना र ४ जना वैकल्पिक, टीम कोच र व्यवस्थापक गरी २० जनाको टोलीलाई शुभकामना दिंदै बिदाइ गरे।
प्रदेश २ को टोलीले माघ ६ गते लुम्बिनी प्रदेशसँग र ११ गते सुदूरपश्चिम प्रदेशसँग त्रिभुवन विश्वविद्यालयको खेलमैदानमा भिड्दै छन्।
यी दुवै प्रतियोगिता एक्सन स्पोट्र्स नेपाली च्यानलबाट प्रसारण हुनेछ भने माघ ९ गते मूलपानी खेलमैदानमा वाग्मती प्रदेश र नेपाल प्रहरीबीच खेल हुनेछ। माघ १४ गते पहिलो सेमिफाइनल, १५ गते दोस्रो सेमिफाइनल र १७ गते फाइनल हुने कार्यतालिका रहेको क्यान नेपाल प्रदेश २ का खेलाडी छनोट समितिका संयोजक मुर्तुजा हवारीले जानकारी गराए।
कुन–कुन जिल्लाबाट को–को खेलाडी
प्रदेश २ को क्रिकेट टोलीमा पर्साबाट प्रदेश कप्तान सुरजप्रसाद कुर्मी, सैफुल्लाह अन्सारी गरी २ जना, बाराबाट कुमार थापा, रविकुमार साह, आदिल अन्सारी गरी ३ जना, सर्लाहीबाट सुधीर चौधरी, महोत्तरीबाट राहुलप्रताप सिंह र रविकुमार सिंह गरी २ जना, सप्तरीबाट मेहबुब आलम र विवेक यादव गरी दुर्ई जना र धनुषाबाट हिमांशु दत्त, दिव्यांशु मलिक, हरिशङ्कर साह, विशाल सुस्लिङ गरी प्लेइङ टीममा १४ जना खेलाडी परेका छन्।
त्यसैगरी, वैकल्पिक खेलाडीहरूमा पर्साबाट नसरुद्दीन अन्सारी, बाराबाट तीर्थराज दास, सर्लाहीबाट गुलशन झा, सप्तरीबाट आशिष् झा गरी ४ जना परेका छन्। प्रदेश २ मा सबैभन्दा बढी धनुषाबाट खेलाडी चयन भएका छन् भने रौतहट र सिराहा जिल्लाबाट एकजना खेलाडी पनि चयन हुन नसकेको देखिन्छ। प्रदेश २ को टीम प्रशिक्षकमा प्रकाश शर्मा र व्यवस्थापकमा सुवास जैसवाल रहेका छन्।
बिदाइ कार्यक्रममा टीम प्रशिक्षक शर्माले प्रदेश २ ले प्रतियोगिता जित्ने प्रतिबद्धता जनाए।
यसअघि, प्रदेश २ का राम्रा खेलाडी वीरगंजका हासिम अन्सारीले प्रदेशस्तरीय छनोट खेलमा राम्रो प्रदर्शन नगर्दा उनी टीममा परेनन्।