प्रस, लहान, ४ माघ/
सिराहा नगरपालिकाका प्रमुख अशेश्वरप्रसाद यादव न्यानो कपडा बोकेर वडा नं ६ बसबिट्टाका सहदेव सदाको परिवारलाई भेट्न पुगेपछि गाउँले अचम्ममा परे।
नगरप्रमुख यादवले सदाको परिवारजनलाई सिरक वितरण गर्दै जाडोबाट जोगिन सुझाव दिए। चीसोबाट जोगिन न्यानो लुगा लगाउन, झोलिलो र पोषिलो खानेकुरा खान, घुर ताप्दा सतर्कता अपनाउन सुझाव दिंदै उनले चेतनामूलक पम्प्लेट पनि वितरण गरे।
त्यस्तै, सुखीपुर नगरपालिकामा सङ्घीय कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले सिरक वितरण गरेपछि वडा नं ४ का ६५ वर्षीय पुदन सदा निकै खुशी भए। सुखीपुरले वडा नं ४ का दलित, विपन्न तथा ज्येष्ठ नागरिक गरी २०० जनालाई सिरक वितरण गरेको थियो।
विगत केही दिनदेखिको अत्यधिक चीसो र शीतलहरबाट प्रभावित नागरिकको ज्यान जोगाउनु आफूहरूको कर्तव्य हो भने बुझेर न्यानो लुगा वितरणसँगै जनचेतना जगाउन थालिएको नगरप्रमुख रामअवतार यादवले बताए।
सिराहा नगरपालिका–६ बसबिट्टाका २५० परिवारलाई कम्बल वितरण गरेको र अरू वडामा पनि सिरक र कम्बल वितरण गर्ने योजना रहेको उनले जनाए। सिराहा र सुखीपुर नगरपालिकाले मात्र होइन, यतिबेला सिराहाका अधिकांश जनप्रतिनिधि नागरिकलाई चीसोबाट जोगाउन सिरक, कम्बल र न्यानो लुगा वितरण गर्दै जनचेतना जगाउन सक्रिय छन्।
शीतलहर र चीसोबाट आफ्ना नागरिकलाई जोगाउन जिल्लाभरिका जनप्रतिनिधि सक्रिय भएपछि जनप्रतिनिधिप्रति नागरिकको भरोसा बढ्दै गएको छ। कोरोना महामारीको सन्त्रासका बेला नागरिकलाई भरोसा दिलाउन सफल भएका जनप्रतिनिधि जनताको दैलोमा पुग्न थालेपछि नागरिकमा थोरै भएपनि आत्मविश्वास बढ्न थालेको छ। सिराहा–६ का शम्भु सदाले यसबाट जनतामा रहेको भ्रम केही हदसम्म भएपनि हटेको छ र यसबाट जनप्रतिनिधिप्रतिको भरोसा बढ्न थालेको बताए। जनप्रतिनिधि कमाउनमैं व्यस्त रहेको आरोप लागिरहेका बेला कोरोना महाविपद् र अहिलेको शीतलहरको समयमा जनप्रतिनिधि जनताको घरदैलोमा न्यानो लुगा बोकेर पुग्न थालेपछि त्यो भ्रमसमेत हट्ने उनको विश्वास छ।
सिराहा जिल्लामा १७ वटा स्थानीय तह छन्। ती स्थानीय तहका जनप्रतिनिधिमध्ये अधिकांश यतिबेला गाउँँ–गाउँँमा चीसोबाट प्रभावित नागरिकलाई कसरी जोगाउनेसम्बन्धी जनचेतना जगाउन व्यस्त छन् भने सिरक र कम्बल वितरण गर्न सक्रिय भएका छन्। यस्तै, बजार तथा भीड हुने स्थानमा आगो बाल्न दाउराको व्यवस्थासमेत गर्न थालेका छन्।