प्रस, वीरगंज, ४ माघ/
वीरगंज महानगरपालिका–२१ परवानीपुर रेलवेको जग्गाबाट हटाइएका दलितहरूले आइतवार वीरगंजमा प्रदर्शन गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन्।
अतिक्रमित रेलवेको जग्गा सबै खाली गर्नुपर्ने माग राख्दै दलितहरूले प्रमुख जिल्ला अधिकारी आसमान तामाङलाई ज्ञापनपत्र बुझाएका थिए। ज्ञापन बुझ्दै प्रजिअ तामाङले वडाध्यक्ष हबिब मियाँ, राजहंस घ्यू उद्योगका प्रतिनिधि तथा महानगरका प्रतिनिधिहरूबीच छलफल गराउने बताए।
वीरगंज महानगरपालिकाले केही दिनअघि रेलवेको जग्गामा बस्दै आएका १२ जना दलितको घर भत्काएको थियो। वडाध्यक्ष मियाँले दलितबस्तीनजीक रहेको घ्यू उद्योगसँग मिलेमतो गरी दलितबस्ती हटाएर उद्योगले आफ्नो निर्माण कार्य शुरू गराएको भन्दै दलितहरूले पत्रकार सम्मेलन गरेका थिए। पत्रकार सम्मेलनमा दलितहरूले रेलवेको जग्गा अतिक्रमण गरी बनाइएका पक्की घर, पसल हटाउनुपर्ने वा आफूलाई पनि त्यहाँ बस्ने व्यवस्था मिलाउनुपर्ने माग गरेका छन्।