राजेश केशरीवाल, रक्सौल, ३ माघ/
नेपालसँग सीमा जोडिएको भारतको मोतीहारी जिल्लामा कोरोना भाइरस (कोभिड–१९)विरुद्ध खोप शनिवारदेखि शुरू भएको छ। भारतका विभिन्न जिल्लामा पहिलो चरणको खोप शुरू गरिए अनुसार यहाँ पनि खोप शुरू भएको हो।
सदर अस्पतालमा शुरू भएको खोप कार्यक्रम जिल्ला मजिस्ट्रेट कपिल अशोकले निरीक्षण गरेका थिए। पहिलो चरणमा चिकित्सक, स्वास्थ्यकर्मी र पारा मेडिकल स्टाफलाई दिइने मजिस्ट्रेड अशोकले बताए। उनको उपस्थितिमा स्वास्थ्य प्राविधिक दिलीप कुमारको टोलीले खोपको निरीक्षण गरे। सदर अस्पतालका प्राविधिक मो. आबिदलाई खोप दिएर खोप कार्यक्रमको सुरुआत गरिएको थियो।
खोप लगाएकाहरूको शरीरमा निर्धारित अवधिसम्म एन्टिबडी तयार हुने क्रम चल्ने भएकोले सो अवधिसम्म चिकित्सकको दिशानिर्देशमा रहनुपर्ने जिल्ला मजिस्ट्रेड अशोकले सुझाए। सो अवसरमा सिभिल सर्जन डा अखिलेश्वरप्रसाद सिंह र डिआइओ डा शरतचन्द्र शर्मा सहभागी थिए।